site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको ‘गोल्ड कार्ड’ योजना सुरु, १० लाख डलरमा अमेरिकी नागरिकता !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ योजनाको औपचारिक सुरुआत गरेका छन् । यस योजनाअन्तर्गत कम्तीमा १० लाख डलर भुक्तानी गर्ने विदेशीहरूलाई अमेरिकी भिसा प्रदान गरिने बताइएको छ ।

ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “यो कार्ड खरिदकर्तालाई सबै योग्य र प्रमाणित व्यक्तिका लागि नागरिकतासम्मको सिधा बाटो उपलब्ध गराउनेछ । धेरै रोमाञ्चक ! हाम्रा महान् अमेरिकी कम्पनीहरूले अब आफ्नो अमूल्य प्रतिभालाई कायम राख्न सक्नेछन् ।”

‘ट्रम्प गोल्ड कार्ड’को घोषणा यसै वर्षको सुरुमा गरिएको थियो ।

‘गोल्ड कार्ड’ अमेरिकी भिसा हो । यो त्यस्ता व्यक्तिलाई प्रदान गरिन्छ, जसले देशलाई ‘महत्त्वपूर्ण लाभ’ दिने प्रमाण प्रस्तुत गर्न सक्छन् ।

वासिंगटनले अध्यागमन कडाइ गरिरहेकै बेला यो योजना सार्वजनिक भएको छ । यस योजनामा कार्य (वर्क) भिसाको शुल्क बढाउने र कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने नीति समावेश छ ।

शुल्क र ‘प्लाटिनम’ संस्करण

‘गोल्ड कार्ड’ योजनाले अमेरिकी नागरिकता प्रदान गर्नेछ । यसका लागि १० लाख डलर शुल्क तिर्नुपर्ने बताइएको छ ।

कर्मचारीलाई प्रायोजन गर्ने व्यवसायले भने २० लाख डलरसहित थप शुल्क पनि तिर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 

समाचारअनुसार कार्डको ‘प्लाटिनम’ संस्करण पनि उपलब्ध हुनेछ, जसले विशेष कर छुट प्रदान गर्नेछ । यसका लागि ५० लाख डलर तिर्नुपर्ने बताइएको छ ।

यसै वर्ष फेब्रुअरीमा घोषणा भएदेखि नै गोल्ड कार्ड योजनाको आलोचना हुँदै आएको छ । केही डेमोक्रेटहरूले यसलाई धनी वर्गलाई अनुचित रूपमा फाइदा पुग्ने योजना भएको आरोप लगाएका छन् ।
 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्