काठमाडौं । म्यानमार सेनाले एक अस्पतालमा गरेको हवाई आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु भएको एक राहतकर्मीले बिहीबार बताएका छन् । यस महिनादेखि सुरु हुन लागेको चुनावअघि म्यानमारको सैनिक सरकारले आक्रमण तीव्र पारेको फ्रोन्टियर म्यानमारले जनाएको छ ।
निगरानीकर्ताहरूका अनुसार, सन् २०२१ मा सत्तापलटमार्फत १० वर्ष लामो प्रजातान्त्रिक अभ्यास अन्त्य गरी सत्ता कब्जा गरेपछि जुन्टाले हवाई आक्रमण निरन्तर बढाउँदै आएको छ ।
सेनाले चुनाव संघर्ष अन्त्य गर्ने माध्यम रहेको बताउँदै आएको छ । र, डिसेम्बर २८ देखि चुनाव आयोजना गर्ने घोषणा गरेको छ । तर, विद्रोहीहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा चुनाव रोक्ने घोषणा गरेपछि, ती क्षेत्रहरू पुनः कब्जा गर्न जुन्टा संघर्षरत रहेको समाचारमा उल्लेख गरिएको छ ।
बुधबार साँझ बंगलादेशसँग जोडिएको पश्चिमी राखिन राज्यको म्राउक–यूस्थित एक सामान्य अस्पतालमा सैनिक विमानले बमबारी गरेको राहतकर्मी वाइ हुन औङले बताए । उनी बिहीबार बिहान घटनास्थल पुगेपछि “स्थिति अत्यन्त दुखद थियो” भन्दै अहिलेसम्म ३१ जनाको मृत्यु र ६८ जना घाइते भएको पुष्टि गरेका छन् ।
अस्पतालबाहिर रातभर कम्तीमा २० वटा शव राखिएको थियो । बाहिरको ठूलो रुख विस्फोटको झट्काले आधा भाँचिएको थियो भने माटोमा ठूलो खाल्डो बनेको थियो । राखिन राज्य लगभग पूरै एक सांस्कृतिक अल्पसंख्यक विद्रोही समूहको नियन्त्रणमा रहेको बताइएको छ ।