काठमाडौं । संयुक्त राष्ट्रसंघका यातना मामिला हेर्ने विज्ञ एलिस जिल एडवड्र्सले पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रको अवस्थाबारेका रिपोर्टमाथि तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । उनले यस्तो परिस्थितिलाई यातना वा अरू अमानवीय तथा अपमानजनक व्यवहारको श्रेणीमा पर्न सक्ने चेतावनी दिएकी छन् ।
एडवड्र्सले भनिन्, “म पाकिस्तानी अधिकारीहरूलाई इमरान खानको हिरासतका सर्त अन्तर्राष्ट्रिय मापदण्ड र मानकसँग पूर्ण रूपमा अनुरूप छन् भनी सुनिश्चित गर्न अपिल गर्छु ।”
उनका अनुसार, सन् २०२३ सेप्टेम्बर २६ मा रावलपिण्डीस्थित अडियाला जेलमा सारिएदेखि इमरानलाई लामो समयसम्म एकान्त कारावासमा राखिएको छ । उनलाई दिनको २३ घण्टा एकान्त कोठरीमा बन्द गरिन्छ । र, बाहिरी संसारसँगको सम्पर्क अत्यन्त सीमित गरिएको छ ।
इमरानलाई एकान्त कोठरीभित्र निरन्तर क्यामेराको निगरानीमा राखिएको पनि उनले बताइन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार कानुनानुसार लामो समयसम्मको एकान्त कारावास निषेध रहेको उनले उल्लेख गरिन् । यदि, १५ दिनभन्दा बढी समयसम्म यस्तो कायम रहे त्यसलाई यातनाको एक रूप मानिने उनले स्पष्ट पारिन् ।
एडवड्र्सले भनिन्, “इमरान खानका निम्ति एकान्त कारावासको सजाय कुनै पनि ढिलाइ नगरी अन्त्य गरिनुपर्छ । यो केवल गैरकानुनी उपाय मात्र होइन, लामो समयसम्मको एकान्त कारावासले उनको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर हानिकारक असर पार्न सक्छ ।”
इमरानलाई कोठरीबाहिर गतिविधि वा अरू कैदीसँग भेटघाट गर्न अनुमति छैन । उनी सामूहिक नमाजमा पनि सहभागी हुन पाउँदैनन् ।
वकिलहरू, परिवारजन तथा अरू व्यक्तिहरूसँगको भेटघाट पनि प्रायः रोकिएको वा समयभन्दा अघि नै समाप्त गरिने गरिएको जनाइएको छ ।