site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको महाधिवेशन उद्घाटनमा सुरेन्द्र झाले भने- सरकारलाई दलहरूलाई निषेध गर्ने म्यान्डेट छैन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले वर्तमान सरकार असंवैधानिक रहेको तर्क गर्दै त्यसले संविधानविरुद्ध गतिविधि सुरु गरेको टिप्पणी गरेका छन् । उनले जेनजी समूहसँग संविधान नै संशोधन गर्ने गरी भएको सम्झौताप्रति आपत्ति जनाए ।

“सुशीला सरकार संवैधानिक हो ? जेनजीसँगको गरेको सम्झौता यो सरकारको हैसियतको कुरा हो ?,” झाले भने, “संसद पुनर्स्थापना हुन्छ वा के हुन्छ सर्वोच्चले निर्णय गर्ने नै छ । तर, यो सरकार संसदको चुनाव गर्नका लागि आएको छ । यसलाई आफ्नो हैसियत बिर्सिने र दलहरूलाई निषेध गर्ने म्यान्डेट छैन ।”

उनले आफ्नो हैसियतभन्दा बाहिरका विषयमा प्रवेश गरेर सरकारले चुनावको वातावरण विगार्ने र सरकारमा बसिरहने नियत राखेको आरोप लगाए । जेनजी विद्रोपछिको पहिलो 'ऐतिहासिक कार्यक्रम' एमालेले गरेको भन्दै यसले सबैमा उत्साह ल्याउने उनको भनाइ छ । एमालेले राखेको लक्ष्यप्राप्तिका लागि भने राष्ट्रिय एकताको आवश्यकता रहेको उनले बताए ।

“एमालेले राखेको ऐतिहासिक लक्ष्य नेपालको ‘समृद्धि’का लागि यो जनसागरले बन्दसत्रमा छलफल गर्नेछ भन्ने विश्वास लिएको छु,” झाले भने, “राष्ट्र एकीकरण नभइकन समृद्धिको यात्रा सम्भव छैन । एकताबद्ध भएमात्र राष्ट्र समृद्ध हुनेछ ।”

उनले अहिलेको सरकारलाई संविधान संशोधनको म्यान्डेट नरहेको र हैसियत पनि नभएको भन्दै चुनावपछि राजनीतिक दलहरू मिलेर संविधान संशोधन गर्नुपर्ने बताए । “मधेस आन्दोलनमा धेरैजनाको सहादत भएर संघीयताको मुद्दा स्थापित भए पनि हामीले संविधानमा हस्ताक्षर गर्ने अवसर पाएनौँ,” झाले भने, “मधेस आन्दोलनको म्यान्डेट संविधानमा सुरक्षित गरौँ । मधेस आन्दोलनमा लागेकाहरूलाई प्रतिशोधमा लगाइएका हत्यासहितका मुद्दा फिर्ता गर्न सबै दलले साझा प्रतिबद्धता जाहेर गरौँ ।”

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्