काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनापछि ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहमा उनले जेनजी प्रदर्शनका मागमा कसैको विमति नहुने बताए । तर, त्यसक्रममा भएको घुसपैठ र विनाशलाइ कसैले ठिक ठहर्याउन नसक्ने उनले तर्क गरे ।
“सामाजिक सञ्जाल खुला होस्, सुशासन होस् र भ्रष्टाचार नियन्त्रण होस् भन्ने भावनाको विरुद्धमा कोही पनि छैन, थिएन र हुन हुँदैन,” ओलीले भने, “जेनजीले उठाएका ती मुद्दामा स्वार्थ समूहको घुसपैठ भयो । फूलको हाँगा पनि भाँच्दैनौँ भनेका जेनजी युवाहरूलाई अघि लगाएर हिंसा भड्काउनेहरू प्रवेश गरे ।”
उनले घुसपैठकर्ताले हिंसा भड्काएको आरोप लगाए । “भदौ २३ गते हिंसा मच्चाउने स्वार्थ समूहले ढाल बनाउँदा ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक समूहको आक्रमणमा मारिएका सुरक्षाकर्मीप्रति यो जनसागरको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।”
उनले घाइते र मनोबल गिरेका सुरक्षकर्मीलाई पनि सम्बोधन गरे । “शरीर र मनको चोट चाँडै निको होस् भन्ने कामना गर्दछु,” उनले भने ।
उनले भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शनका क्रममा भड्किएको हिंसाको जिम्मा लिँदै तत्कालीन गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएको बताए । प्रधानमन्त्रीले पनि राजीनामा दिएपछि विनाश भएको उनको भनाइ थियो ।
“गृहमन्त्रीको राजीनामापछि मन्त्रिपरिषद्ले छानबिन समिति बनाउने निर्णय गरिसकेको थियो,” ओलीले भने, “तर, हिंसा भड्काउन अगुल्टो लिएर हिँडेको समूहलाई शान्तिपूर्ण समाधान स्वीकार्य थिएन । उसलाई खाली निहुँ चाहिएको थियो । राज्यका प्रमुख अंगमा एकैसाथ आक्रमण गरियो, आगो झोसियो, शान्ति सुरक्षाका निम्ति खटिएका प्रहरीमाथि निर्ममतापूर्वक हत्या गरियो । हतियार र गोलीगट्ठा लुटियो । प्रहरीको पोसाक मात्र लुटिएनन्, उनीहरूको चीरहरणको प्रयास भयो ।”
उनले देशका सबै धरोहर समाप्त पारेर स्वाधीनता र सार्वभौमसत्ता अपहरणको प्रयास गरिएको बताए । “राष्ट्रपति भवनदेखि सहिदका सालिकसम्म, लोकतान्त्रिक आन्दोलनका स्मारक र प्रतीकहरूका आश्रमहरूमा आगो झोसियो, यी सबै घटना प्रधानमन्त्रीको राजीनामापछि गरियो,” ओलीले भने, “यसले भन्छ, यो देशको स्वाधीनतामाथि प्रहार गर्ने, राष्ट्रका प्रतीकहरू समाप्त पार्ने र भीडको महिमामण्डन गर्दै कोही सत्ताको योजना बुन्दै थिए ।”
उनले एमालेले त्यस बेलै लोकतन्त्रविरुद्धको प्रहार भनेको बताए । “यो राष्ट्रिय स्वाधीनता सिध्याउने प्रयत्न हो । भीडबाट जोगिन सुरक्षित ठाउँ खोज्नैपर्ने रहेछ ,” ओलीले भने, “तर, हेलिकोप्टरमा भाग्यो भनियो । लाक्षगृहबाट पाण्डवहरूले भाग्नुपरेका थियो कि थिएन ? आगो लगाएकोमा भाग्ने पाण्डवहरू दोषी भए कि आगो लगाउने कौरवहरू, दुर्योधन र शकुनिहरू ?”