काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको हितमा काम गर्दा प्रमुख दलहरूमाथि आक्रमण भएको बताएका छन् । उनले जहानियाँ शासनदेखि निरंकुशता अन्त्य गरेका दलहरूमाथि विभिन्न नाममा आक्रमण भइरहेको बताए । 'जेनजी' आन्दोलनका माग स्वाभाविक भए पनि त्योसको प्रयोग पनि नेपालको स्वाधीनता र सार्वभौमसत्ता कमजोर पार्नमा भएको उनले तर्क गरे ।
“हामी सपना मात्रै देख्दैनौँ, सपना मात्र बाड्दैनौँ, प्रत्यक दिन एक पाइला अघि बढ्छौँ,” शनिबार (मंसिर २७) पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा ओलीले भने, “हाम्रो संलग्नता र नेतृत्वको सरकारले गरेको कामले त्यसको सूची प्रस्तुत गर्छन् ।”
उनले लोकतन्त्रलाई राजनीतिको घेराभित्र सीमित नगर्ने 'वशुदैव कटुम्बकम'को नीति लिनेहरूमाथि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूले प्रहार गरेको बताए । “हामी लोकतन्त्रलाई राजनीतिको घेराभित्र सीमित राख्दैनौँ । बहुआयामिक क्षेत्रसँग यसको सम्बन्ध हुन्छ,” ओलीले भने, “हाम्रो राजनीति हाम्रा लागि मात्र होइन, विश्व राजनीति, विश्व वातावरण र मानव हितका लागि हुनुपर्छ । त्यसैले त भनिन्छ- वशुधैव कुटुम्बकम ।”
उनले प्रमुख दल र एमालेमाथिको प्रहार अन्तर्राष्ट्रिय रूपमा पनि भइरहेको बताए । विश्वकै हित चाहनेमाथिको आक्रमण स्वभाविक नभएको उनको भनाइ थियो । “स्वाभिमान सानो ठूलो हुँदैन । तर, कतिलाई लाग्छ, सानो देश भएर पनि हामीसँग बराबरी हैसियत खोज्ने ? अनि प्रहार हुन्छ । त्यस्ता प्रहारहरू सहँदै देशलाई हामी अघि बढाउँछौँ,” ओलीले भने, “हामीलाई अनिर्वाचितहरूले गर्ने शासन स्वीकार्य छैन । हामी सर्वभौम अधिकार हाम्रो हो भन्छौँ, संविधान बनाउने अधिकार हाम्रो हो भन्छौँ, हाम्रो स्वतन्त्रताको उपयोग, सुउपयोग हामी गर्छौं भन्छौँ कतिलाई मन पर्दैन अनि हामी माथि प्रहार हुन्छ ।”
उनले अनिश्चितता र अस्थिरता जतिसुकै लम्ब्याउने प्रयास गरे पनि लोकतन्त्र र स्वतन्त्रता अविभाज्य रहेको बताए । “हामी रात जतिसुकै लामो भए पनि भोलि बिहान हुन्छ भन्ने विश्वास गर्छौं,” ओलीले भने, “भूकम्प, कोरोना, नाकाबन्दीमा भएका संकटमा पनि भएका प्रगति हिसाब गर्छौं, हामी रहँदासम्म हामी नझुक्दासम्म हाम्रो स्वामिमान ढल्दैन, त्यसैले हामीमाथि प्रहार हुन्छ ।”
उनले विभिन्न नाममा देशको हित बोक्न सक्ने दलहरूमाथि आक्रमण भइरहेको बताए । “कहिले असन्तुष्टिका नाममा, कहिले परिवर्तनका नाममा हामीमाथि प्रहार भइरहेका छन् । तर, हामी त्यस्ता प्रहार छिचोल्दै अघि बढिरहेका छौँ,” ओलीले भने ।
उनले राष्ट्रलाई समृद्ध बनाउने नीति लिँदा अन्तर्राष्ट्रिय शक्ति राष्ट्रले प्रहार गरेको बताए । स्वाभिमानका विषय उठाउँदा छिमेकीले आधक्रमण गरेको उनको टिप्पणी थियो । “उत्तर-दक्षिण कनेक्टिभिटि बनोस् र हामी सहज रूपमा हिँड्न सक्ने बनौँ भन्ने कतिलाई मन परेन, अनि हामीमाथि प्रहार भयो,” उनले भने, “हाम्रो जमिनमा हाम्रो अधिकार हुन्छ । हाम्रो सार्वभौमसत्तामाथिको प्रहार, हाम्रो स्वाधीनतामामाथिको प्रहार सहँदैनौँ भन्छौँ– अनि फेरि हामीमाथि प्रहार हुन्छ ।”
उनले कांग्रेस र एमालेमाथिको आक्रमणलाई फलेको आँपलाई हानिने झटारोको रूपमा प्रस्तुत गरे । “बाटोको छेउमा फलेको आँपलाई सबैले झटारो हान्छन् । तर, छेउमै रहेको खयरलाई कसैले प्रहार गर्दैन,” ओलीले भने ।