site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चुनाव नलड्ने घोषणा गरेका कांग्रेसका यी चार नेता– विश्राम कि सन्न्यास ?

काठमाडौं । ‘हारको डरले हो या नयाँ पुस्ता ठाउँ दिने चाहनाले प्रेरित हुँदै’ हो नेपाली कांग्रेसका प्रभावशाली र स्थापित नेताहरू चुनाव नलड्ने घोषणा गर्दै छन् । अझ कोहीले त संसदीय राजनीतिमै पूर्णविराम लगाएका छन् भने कोहीले यसपालिको चुनावमा विश्राम लिँदै अरूलाई अवसर दिने बाटो रोजेका छन् ।

पूर्वमन्त्री तथा कांग्रेस युवा नेता बद्री पाण्डेले यसपालिको चुनावमा प्रतिस्पर्धी नबन्ने उद्घोष गरे । उनी बाजुराबाट निर्वाचित सांसद थिए । उनी कांग्रेस सहमहामन्त्री पाण्डे हुन् । काठमाडौं–१० बाट २०७० पछि लगातार निर्वाचित जनप्रतिनिधि हुन्, राजेन्द्र केसी । उनी पनि १२ वर्षे संसदीय यात्रामा बिर्काे लगाउँदै विश्राम लिन खोज्दै छन् ।

काठमाडौं–१० बाट ‘पपुलर’ महसहित निर्वाचित हुँदै आएका थिए । उनी कांग्रेस केन्द्रीय सदस्य पनि हुन् । भुइँ तहमै भिजेका नेता रामनाथ अधिकारीले चुनाव नलड्ने घोषणा गरे । धादिङ–२ बाट निर्वाचित अधिकारी पूर्ववर्ती मन्त्रिपरिषद्का एक सदस्य हुन् ।

उनले ०८२ मा हुने प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा कुनै पनि निर्वाचनमा आकांक्षी नबन्ने बताए ।  त्यति मात्र होइन, आफ्ना समकालीनहरूलाई पनि ‘समयको आवाज सुन्न’ उनको आग्रह छ ।

दुई पटकसम्म सांसद भएका केन्द्रीय सदस्य जिपछिरिङ लामाले पनि दोलखामा चुनाव नलड्ने घोषणा गरेका छन् ।

पाण्डे, अधिकारी, केसी, लामाको घोषणासँगै कांग्रेसभित्र उठिरहेको पुस्तान्तरणको माग, नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज पक्षमा र संसदीय राजनीतिमा निरन्तरता रहन खोज्ने प्रवृत्तिविरुद्ध बहसको ढोका खुलेको छ ।

अधिकारी : लोभ सधैँ हुन्न

धादिङ कांग्रेस नेता अधिकारी २०५६ सालमा पहिलो चोटि चुनावी प्रतिस्पर्धामा थिए । उनी जुन उमेरमा प्रतिस्पर्धी भए, त्यो उमेर समूहका कांग्रेसजनले अझै अवसर पाएका छैनन् ।

उनी आफैँ भन्छन्, ‘‘मेरो उमेर सम्झिँदा, यसबीचमा म चुनाव लड्दै गर्दा त्यो उमेरका धेरै युवाहरू चुनाव लड्न पाउनुभएको छैन ।’’

६५ वर्षीय अधिकारी पञ्चायतकालमा दल प्रतिबन्धित हुँदाकै राजनीतिमा होमिएका थिए । उनी पञ्चायतकालमा पटक–पटक जेल परे, कांग्रेसका भएका कारण ।

उनी राजनीतिमा ‘न्यायोचित अवसर’ पक्षमा उभिएका छन् । “मसँगै लडेका मेरा सहकर्मीहरूलाई अवसर उपलब्ध गराउन म यसपालि चुनाव लड्दिनँ भनेको हुँ,” उनले भने ।

तर, राजनीतिबाट पूर्ण रुपमा सन्यास लिएका चाहिँ होइनन् ।

कांग्रेसमा सधैँभरि पदकै लोभ गर्नेहरूका निम्ति सुझाव दिँदै भन्छन्, “मेरा समकालीन साथीहरू, समयलाई, परिस्थितिलाई बुझेर राजनीति गरौँ, हामीसँगै हिँडेका र लडेका साथीहरूलाई पनि अवसर दिनुपर्छ भन्ने मान्यता राख्नुपर्छ ।” 

पाँच वर्षका लागि निर्वाचित तीन वर्ष नहुँदै प्रतिनिधिसभा विघटन हुन पुग्यो । उनकै शब्दमा, ‘‘पाँच वर्षे म्यान्डेट पूरा भएन, अझै ‘म्यान्डेट’अनुसार मत माग्ने अधिकार छ । तर, मैले अरूलाई अवसर दिने निर्णय गरे ।’’

लामा : अवसर अब अरुलाई 

केन्द्रीय सदस्य जिपछिरिङ लामाले नयाँ पुस्ताका नेताहरूलाई अवसर दिन आफूले नलड्ने निर्णय लिएको र अरु नेताहरूलाई अब झगडा गर्ने होइन कि छाड्न आग्रह गरेका छन् ।  ‘‘म लड्छु मात्र भन्दा धेरैको अवसर खोसिन्छ । त्यहीकारण लड्दिनँ भनेको हुँ । अरु नेताहरूले पनि सहमतिमा विकल्प खोज्न मार्ग प्रशस्त गर्नुपर्छ,’’ उनले भने । 

उनले जिल्लाका आकांक्षी नेताहरूलाई पनि झगडा नगर्न सुझाएका छन् । “म लड्ने भएँ भने तपाईंहरूले हुँदैन भन्न सक्नुहुन्छ र ?” लामाले भनेका छन्, “त्यसैले मैले तपाईंहरूलाई मौका दिएको हुँ । तपाईंहरू मिल्नुस् भनेर यो मौका दिएको हुँ ।”

दोलखा, कांग्रेसका सादगी नेता भीमबहादुर तामाङको गृहजिल्ला हो । “भीमबहादुर तामाङको सपना पनि साकार गर्नुपर्‍यो नि ! तपाईंहरू झगडा गरेर बस्नुभयो भने उहाँको सपना साकार हुन्छ ?,” लामाले भनेका छन्, “नेता आफैँ मात्र लड्दा दुःख पाएका कार्यकर्ताको कहिल्यै पालो आएन । नेता नहुँदा नेताकी श्रीमती आउँदा झन् धेरै कार्यकर्ताले अवसर पाएनन् । त्यसकारण म चुनाव लड्दिनँ, तपाईंहरू लड्नुहोस् ।”

पाण्डे : यसपालि चुनावी विश्राम

उता कांग्रेसका युवा नेता तथा सहमहामन्त्री बद्री पाण्डेले जिल्ला कमिटिलाई चुनाव नलड्ने जानकारी गराइसकेका छन् ।

उनी ०७० मा संविधानसभा सदस्य, त्यसपछि राष्ट्रियसभा सदस्य र ०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसपालि संसदीय राजनीतिमा विश्राम गर्दै पार्टी राजनीतिमा सक्रिय हुन लागेको बताए ।

“जिल्ला कार्यसमितिका साथीहरूले सोध्नुभएको थियो । मैले चुनाव लड्दिनँ भनेको छु,” पाण्डेले भने, “मैले संसदीय राजनीतिबाट सन्यास लिएको होइन, यसपालि विश्राम गर्दै पार्टी राजनीतिमा थप सक्रिय हुन खोजेको हुँ ।”
पाण्डेले चुनाव नलड्ने घोषणा गरेपछि पार्टी सभापति र पूर्वसभापतिहरूसहितका नेताहरूको नाम सिफारिस भएको छ ।

जिल्ला सभापति रामसिंह रावल, पूर्वसभापति कविराज पण्डित, पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरी, तरुण दल केन्द्रीय सदस्य जगतजंग बम तथा महाधिवेशन प्रतिनिधिहरू गुरुदेव केसी र योगेन्द्र रावललाई प्रत्यक्षतर्फ जिल्ला कार्यसमितिले सिफारिस गरेको छ ।

“प्रत्यक्षतर्फ कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्ने पार्टी विधानको व्यवस्था हो । केन्द्रले गरेको परिपत्र पनि त्यही हो,” पाण्डेले भने, “प्रत्यक्षतर्फ लड्न चाहने महिला पाउन सकिएन । त्यसैले पुरुषहरूकै नाम सिफारिस भएको छ ।”

बाजुराबाट समानुपातिकमा पूर्व सांसदसमेत रहेका नेपाली, केन्द्रीय सदस्य विद्या तिमिल्सिना, पार्टीको प्रदेश समितिकी सदस्य राधिका सिंह र महाधिवेशन प्रतिनिधि सुनिता गुरुङको नाम सिफारिस भएको छ ।

राष्ट्रियसभा सदस्यका लागि पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती र देवराज जोसीको नाम सिफारिस भएको छ ।

केसी : संसदीय यात्रामा पूर्णविराम

काठमाडौं–१० बाट ०७० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनाव हराएर चर्चामा आएका राजेन्द्र केसी लगातार तीन पटक निर्वाचित भए । उनले अब चुनाव नलड्ने घोषणा नै गरेका छन् । उनले भविष्यमा पनि संसदीय राजनीतिमा नजाने गरी पूर्णविराम लगाएको घोषणा गरेका छन् ।

“एकै ठाउँमा बस्दा भोलिको प्रतिभा ह्रास हुन्छ । त्यसैले अब म लड्दिनँ, तपाईंहरू तयार हुनुस् भनेर विघटन लगत्तै भनेको हुँ,” केसीले भने, “२३ गते उम्मेदवार छनोटका दिन उम्मेदवार बन्दिनँ भनेर आधा घण्टा सम्बोधन गरेर विदा लिएको छु ।”

उनले निर्वाचित सांसदले चुनाव लड्दिनँ भन्दा नराम्रो होला भनेर आफूले चुनावका कार्यक्रमअघि नै धेरै जनालाई जम्मा गरेर अब तपाईंहरू तयार रहनुस् भनेपछि स्थानीय नेता–कार्यकर्ताहरू पनि तयार भएको उनको भनाइ छ ।

उनले चुनाव लड्दिनँ भनेपछि प्रदेश समिति केन्द्रीय सदस्य तथा पुराना नेता दिपेन्द्र आचार्य, वडा अध्यक्ष हुँदै काम गरेर आएका जिल्ला कार्यसमिति सदस्य हिमाल कार्की, नेपाल बार एसोसिएसनकी महासचिव भइसकेकी लक्ष्मी रावल दाहाल, इन्जिनियर दिपेश विष्ट र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरको नाम प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्