site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संस्थापनइतरबाट पदाधिकारीमा टुंगिए यी नाम
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन् । यसका लागि अहिले दुवै पक्ष उमेदवार टुंगो लगाउने अन्तिम तयारीमा जुटेका छन् । 

संस्थापनइतरबाट अध्यक्षमा ईश्वर पोखरेल उमेदवार हुनेछन् भने उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालले प्रतिस्पर्धा गर्नेछन् । उपाध्यक्ष्यमा एकजनाको नाम टुंगो लगाउन बाँकी छ । 

महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई उमेदवार बन्नेछन् । बाँकी दुई उमेदवार कसलाई बनाउने छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । 

सचिवमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा उठ्ने भएका छन् । बाँकी दुईजनामा कसलाई अघि सार्ने छलफल भइरहेको छ । 

यसैबीच, एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको  छ । आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार (आज) बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गरिनेछ । 

१० बजे दाबी विरोधउपर छानबिन र निर्णय गर्ने कार्यतालिका छ । १०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ बजेदेखि १२ बजेसम्म उमेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ ।

बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।

दिउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उमेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

निर्वाचन कार्यतालिकाअनुसार, पुस १ गते ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्