site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अन्तरिम सरकार मन्त्रीका निम्ति भ्रष्ट खोज्दै हिँड्न थाल्यो : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अन्तरिम सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रिपरिषद् विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् । सोमबार (मंसिर २९) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन् ।

सरकारले मन्त्री बनाउन भ्रष्टहरू खोजेर हिँडेको उनले उल्लेख गरे । छानीछानी भ्रष्टलाई मात्र मन्त्री बनाइएको उनको भनाइ थियो ।

“सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रिमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो जो छन्, तिनीहरूलाई मात्रै खोज्दै हिँडेको छ,” उनले भने ।

खतिवडाले वर्तमान सरकारमा केही मन्त्री भने काम गर्नेजस्ता देखिएको पनि बताए । “भर्खरै मैले सुन्दै थिएँ, अब विवादित मान्छेहरू आएका छन् । केही मान्छेहरू काम गर्नेजस्ता पनि देखिएका छन् । तर पनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन,” उनले भने, “हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तीव्रतर गतिमा लागेका छौँ ।”

उनले कांग्रेसले आमनिर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिए । महाधिवेशनका निम्ति क्रियाशील सदस्यता नवीकरण र वितरणको काम भइरहेको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्