काठमाडौं । नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिस्पर्धालाई लिएर पार्टी नफुट्ने बताएका छन् । सोमबार (मंसिर २९) भृकुटीमण्डपमा पार्टीको महाधिवेशनको बन्दसत्रस्थलमा संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका गुरुङले सो टिप्पणी गरेका हुन् ।
१०औँ महाधिवेशनबाट उपमहासचिव बनेका गुरुङले एमाले प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरूले पार्टी नछोड्ने बताए । पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउन नेतृत्व चयन प्रतिस्पर्धाको आधारमा गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
यस्तो छ गुरुङको भनाइ :
प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी हो । प्रतिस्पर्धामा विश्वास गर्ने हाम्रा नेताहरू हुनुहुन्छ । यो फुट्नका लागि गरिएको होमवर्क होइन । यो त पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि यो गरिएको होमवर्क हो । को सक्षम नेता हो, कार्यकर्ताले मन पराएको नेता हो ? उनीहरूले विश्वास गरेको नेता को हो ? भन्ने कुराको कसी लगाउने थलो महाधिवेशन हो । हामी त्यही कसीमा उभिन्छौँ । यो कसीबाट बाहिर निस्कँदाखेरी जो विजयी भएर आउँछ, उसले पार्टीलाई सुदृढ ढंगले चलाउने गरेर उनीहरूले जितेका हुन्छन् ।
बाँकी जो पराजित हुन्छन्, पराजित भएकाले पार्टी छोड्नुपर्छ भन्ने हामी मानसिकता राख्दैनौँ । त्यसकारण उनीहरूको पनि भावना र विचारको सम्मान गर्दै हामी आफैँभित्रको सत्तापक्ष र प्रतिपक्षको भावना नराखी सबै मिलेर अघि बढ्छौँ । न्युज एजेन्सी नेपाल