काठमाडौं । नेकपा (एमाले) का नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताएका छन् ।
सोमबार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले यस्तो बताएका हुन् । मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेकाले उक्त चुनौतीहरू चिर्न सिंगो पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न खोजिरहेको उनले बताए । कम्युनिस्ट आन्दोलनका कामहरू सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरू चल्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाइ छ ।
यस्तो छ पोखरेलको प्रतिक्रिया :
हामी पार्टीको महाधिवेशन समयअगावै सम्पन्न गर्ने गरी लागिरहेका छौँ । अहिले राष्ट्रिय राजनीति चुनौतिपूर्ण छ । त्यसलाई सामना गर्नको लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा हामी अघि बढ्न खोजिरहेका छौँ । त्यसका लागि मैले पार्टीको महासचिवमा दोहोरिने फैसला गरेको छु । यस अर्थमा यसलाई स्वभाविक अर्थमा लिनुपर्दछ ।
गर्न बाँकी काम आन्दोलनको विषय हो कुनै व्यक्तिको विषय होइन । आन्दोलनले के कुराको माग गर्दछ ? कसरी अगाडि बढ्नुपर्दछ भन्ने आधारमा पार्टीले दिएका फैसलाहरूलाई कार्यकर्ताहरूले कार्यान्वयन गर्ने गर्दछौँ । यतिबेला हामी पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सामना गर्ने संकल्प गरेका छौँ । र, उहाँको टिमलाई बलियो बनाउने सन्दर्भमा कसले कहाँ भूमिका खेल्नुपर्दछ भन्ने भुमिकाका आधारमा हामी अगाडि बढ्न खोजेका छौँ । न्युज एजेन्सी नेपाल