पोखरा । दुईतिहाइको सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्रको शक्तिसंघर्षका कारण दुईपटक संसद विघटन गरे । दुवैपटक सर्वोच्च अदालतले विघटन बदर गरिदियो ।
त्यसपछिको सर्वोच्चकै अर्को फैसलाले नेकपा सग्लो रहेन । एमाले र तत्कालीन माओवादी केन्द्र छुट्टाछुट्टै पार्टीका रूपमा ब्युँतिए ।
केन्द्रमा ओलीले सरकार गुमाए । एमाले फुट्यो । माधव नेपाल, झलनाथ खनालहरूले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोले । अहिले नेकपा एस पनि अस्तित्वमा छैन, नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।
नेकपाको त्यो फुटको असर प्रदेशमा नपर्ने कुरै भएन । सबै प्रदेशमा पर्यो । गण्डकी पनि त्यसमा अछुतो रहेन । त्यतिबेला गण्डकीमा मुख्यमन्त्री थिए- हालका उपमहासचिव तथा ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका उमेदवार पृथ्वीसुब्बा गुरुङ ।
कर्णाली, सुदूरपश्चिममा त तत्कालीन माधव, झलनाथ पक्षीय सांसदहरूले ‘फ्लोर क्रस’ गरेर विपक्षीको सरकार बनाइदिए । त्यसपछि सबैको नजरमा परे- इन्द्रलाल सापकोटा । त्यसबेला गण्डकीमा एमालेबाट निर्वाचित २७ मध्ये माधव-झलनाथ पक्षका एक्ला सांसद थिए- सापकोटा ।
उनले ‘फ्लोर क्रस’ गर्छन् भन्नेमा विपक्षी आशावादी थिए । एमालेले भने पार्टीमा नै रोक्न उनलाई मन्त्री पद नै अफर गरेको थियो ।
त्यसबेला पृथ्वीसुब्बाले सुरुमा विश्वासको मत लिए, पाएनन् । नपाएपछि ठूलो दलको हैसियतमा फेरि आफैँ मुख्यमन्त्री बने । त्यसपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो । उनले विश्वासको मत नपाउने प्रष्ट देखिइसकेको थियो ।
विश्वासको मत नपाएको खण्डमा संघमा ओलीले झैँ प्रदेशमा गुरुङले प्रदेशसभा विघटन गर्छन् कि भन्ने हल्ला पनि थियो । त्यही हल्लाको बीचमा सापकोटाले प्रदेशसभा विघटन भए विद्रोह गर्ने चेतावनी दिएका थिए ।
०७८ जेठ २९ गते विपक्षी कांग्रेस, तत्कालीन माओवादी केन्द्र, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवासबाहिर धर्नामा थिए ।
विपक्षीले बहुमत पुर्याइसकेको अवस्थामा प्रदेशसभा विघटन भए आफूले विद्रोह गर्ने भनेर सापकोटाले पृथ्वीसुब्बालाई चेतावनी दिएका थिए ।
पछि प्रदेशसभा विघटन भएन भने सापकोटाले पनि विपक्षीलाई 'फ्लोर क्रस' गरेर मत दिएनन् । सापकोटा एमालेमै रहे । पार्टीलाई फुटबाट जोगाएकोमा पृथ्वीसुब्बालाई धन्यवाद दिए । पृथ्वीसुब्बाले 'अफर' गरेको मन्त्री खान गएनन् ।
“मैले फ्लोर क्रस गर्छ कि भनेर उहाँहरू डराउनु पर्दैन । यो उमेरमा आएर म आफ्नो करिअरलाई धरापमा पार्दिनँ,” सापकोटाले त्यतिबेला भनेका थिए ।
संसद विघटन गरेर प्रतिगमन गरेको भनेर उनले उल्टै केपी ओलीको विरोध गरेका थिए । “केपी कमरेडको बुद्धि फिर्दैन,” सापकोटाले भनेका थिए ।
“माथि पार्टीका अध्यक्ष व्यवस्थामा नै प्रश्न उठाउने गरी लाग्नुभएको छ, त्यो प्रदेशको कमजोरी होइन । मलाई मुख्यमन्त्रीसँग नजिक हुनु पनि छैन र संसदीय दलको निर्णयविपरीत जानु पनि छैन,” सापकोटा त्यतिबेला भन्थे ।
केन्द्रीय सदस्यसमेत रहेका उनै सापकोटा अहिले एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल टिमबाट सचिवको उमेदवार बनेका छन् ।
उनी सचिवमा चुनाव लड्दै गर्दाको अर्को संयोग पनि छ ।
कुनैबेला उनी युवासंघको महासचिव थिए । त्यतिबेला संघको अध्यक्ष अजम्बर राई थिए ।
राईको कमिटीका महासचिव रहेका सापकोटा २०६६ सालमा सिराहामा भएको युवासंघको महाधिवेशनमा अध्यक्षका उमेदवार बने । उनका प्रतिष्पर्धी थिए, अहिले ओली समूहबाट सचिवमै उमेदवार बनेका- महेश बस्नेत ।
उनै बस्नेत र सापकोटा १६ वर्षपछि फेरि एउटै पदमा भिड्दै छन् ।
त्यतिबेला पनि केपी ओली पक्षबाट बस्नेत उमेदवार थिए भने तत्कालीन संस्थापन अर्थात् माधव नेपाल समूहबाट बागलुङका सापकोटा प्रतिस्पर्धामा थिए । चुनावमा महेशले ६ सय ९९ ल्याउँदा इन्द्रलालले ५ सय ९७ मत प्राप्त गरेका थिए ।
०४२ सालमा अनेरास्ववियुको जिल्ला कमिटीबाट राजनीति थालेका सापकोटा ०४७ मा गाउँ पार्टी कमिटी सचिव बनेका थिए । ०५१ मा उनी जिल्ला कमिटी सदस्य बने भने सोही वर्षदेखि युवा संघ नेपालमा क्रियाशील बने ।
०५४ मा जिल्लाको उपसचिव, ०६२ मा सचिव बनेका सापकोटा ०७३ मा जिल्ला अध्यक्ष बने भने ०७८ को अधिवेशनबाट केन्द्रीय सदस्य बने ।
सचिवको उमेदवारी दिँदै गर्दा जितिनेमा विश्वस्त रहेको उनले बताए ।
“पार्टीभित्र निष्ठा, मूल्य, मान्यता भत्कँदो क्रममा छ, चाकडी चाप्लुसी बढ्दो क्रममा छ,” उनले भने, “यसको विरुद्ध हामीजस्ता युवाहरूले आवाज उठाइरहनुपर्छ । एमाले बलियो बनाउनुपर्छ, युवाहरूको हस्तक्षेप हुनुपर्छ भनेर मैले सचिवमा उमेदवारी दिएको हुँ ।”