काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ११औँ महाधिवेशनबाट तेस्रोपल्ट अध्यक्षको दौडमा छन् । १०औँ महाधिवेशनसम्मका सारथि अधिकांशले छाड्दा पनि उनले आफूलाई बलियो दाबी गरिरहेका छन् ।
ओलीले गएको भदौ २० देखि २२ गतेसम्म भएको विधान महाधिवेशनबाट पारित विधान संशोधन नगर्ने र पदाधिकारी पनि नथप्ने घोषणा गरेका थिए । उनीनिकटले ईश्वर पोखरेलसहितका नेता सहमतिका निम्ति तयार भए मात्र विधान संशोधन गरिने बताउँदै आएका थिए ।
महाधिवेशनको हलसम्म पुग्दा पोखरेल समूह विधान संशोधन नगर्ने र पदाधिकारी पनि नथप्ने अडानमा थियो । अन्त्यमा ओली समूहले नै बहुमतको बलमा विधान संशोधन गर्दै यसअघिको निर्णय तीन महिनामै उल्टाइदियो । पदाधिकारीको संख्या १५ बाट १९ पुर्यायो ।
यति गर्दा पनि ओलीले आफ्नो समूहका नेताहरूलाई विश्वासमा राख्न सकेनन् । उनकै समूहका केही नेता पोखरेल प्यानलबाट उमेदवार बनेका छन् । ओलीलाई छाड्नेहरूले अध्यक्षमा उनलाई रोक्न सफल हुन्छन् वा हुँदैनन् भन्ने मतपरिणामले मात्र निर्धारण गर्नेछ ।
विद्या भण्डारी
माधव नेपालसँगको गुटभित्रकै संघर्षमा हुँदादेखि साथ दिएकी विद्या भण्डारी अहिले ओलीको विपक्षमा छिन् । सदस्यता नवीकरण नगरिएपछि उनी पार्टीभित्र छैनन् । तर, ओलीका कमजोरी एकपछि अर्को गर्दै उनले अन्तर्वार्ता र विभिन्न माध्यमबाट सार्वजनिक गरिरहेकी छन् ।
उनले आफ्नो सदस्यता नवीकरण रोक्नुमा ओली डराएको आरोप मात्र लगाएकी छैनन्, १०औँ महाधिवेशनमै ११औँमा ईश्वर पोखरेललाई सर्वसम्मत बनाउने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको पनि बताएकी छन् । यद्यपि, यसलाई उनीबाहेक कसैले चर्चाको विषय बनाएको छैन ।
त्यति बेला राष्ट्रपति रहेकी भण्डारी ओलीका पक्षमा माहोल बनाउन निरन्तर भेटघाटमा थिइन् ।
ईश्वर पोखरेल
ओलीलाई नवौँ र १०औँ महाधिवेशनमा बलियो साथ दिएका पात्र हुन्, ईश्वर पोखरेल । पोखरेल यति बेला आफैँ अध्यक्षको उमेदवार बनेर ओलीलाई चुनौती दिँदै छन् ।
उनी नवौँ महाधिवेशनमा ओलीतर्फबाट महासचिवका उमेदवार थिए । त्यति बेला पोखरेललाई माधव नेपालतर्फबाट महासचिव उमेदवार बनेर सुरेन्द्र पाण्डेले टक्कर दिएका थिए । पोखरेलसँग पाण्डे मात्र चार मतान्तरले पराजित भएका थिए । पाण्डे यति बेला पोखरेलकै प्यानबाट महासचिव उमेदवार छन् ।
प्रदीप ज्ञवाली
ओलीलाई पुनः अध्यक्ष बनाउनुपर्छ भनेर खुल्नेमध्येका उपमहासचिव प्रदीप ज्ञवाली पनि असन्तुष्ट छन् । ज्ञवालीले ओलीले प्रस्ताव गरेको उपाध्यक्ष पद अस्वीकार गरे । तर, उनी ओली प्यानलमै खुलेका छन् ।
ज्ञवाली महासचिवका आकांक्षी थिए । ओलीले महासचिवमा निवर्तमान महासचिव शंकर पोखरेललाई नै निरन्तरता दिएपछि उनी केन्द्रीय सदस्यमा मात्र उमेदवारी दिएर निष्क्रिय बसेका छन् ।
गोकुल बास्कोटा
ओलीलाई छाडेर विरोधी प्यानलमा खुलेका अर्का पात्र हुन्, गोकुल बास्कोटा । कुनै बेला ओलीको ‘किचन क्याबिनेट’का सदस्य बास्कोटा नेपाल सरकारका प्रवक्ता समेत भए । उनी विगतमा ओलीले अत्यधिक विश्वास गरेका पात्र हुन् ।
धेरैले आलोचना गर्दा समेत ओलीले बास्कोटालाई विश्वासमा राखेका थिए । उनले काभ्रेमै पुगेर ‘बाँकी नेता एकातिर, गोकुल बास्कोटा अर्कातिर तराजुमा राख्दा बास्कोटा नै भारी हुने’ बताएका थिए । तर, बास्कोटा हाल ओलीविरोधी समूहबाट सचिव पदका उमेदवार छन् ।
रघुजी पन्त
रघुजी पन्त विगतमा माधव नेपालनिकट रहे । नेपालले पार्टी फुटाएर गएपछि केही समय उनलाई ‘१० भाइ’को ‘ट्याग’ भिराइयो । तर, बिस्तारै ओलीसँग निकट हुँदै संसदीय मामिलामा विश्वासपात्रका रूपमा काम गरिरहेका पन्त फेरि फरक कित्तामा उभिएका छन् । उनले पनि विपक्षी प्यानलबाट उपाध्यक्षमा उमेदवार दिएका छन् ।
भीम आचार्य
माधव नेपाल पार्टीबाट अलग हुनुअगावै कोसी प्रदेशको मुख्यमन्त्री भएर समूहमा आबद्ध भएका भीम आचार्य ओलीपक्षीय अर्का नेता हुन् । यसपालि उनी पनि स्वतन्त्र उमेदवारी दिँदै पोखरेल समूहलाई नै सहयोग पुग्ने गरी लागेका छन् ।
राजेन्द्र गौतम
माथिल्लो अरुण जलविद्युत् आयोजना विश्व बैंकले बनाउने प्रस्तावमा विरोध जनाउँदै चर्चामा आएका राजेन्द्र गौतम संखुवासभामा ओली प्यानलको प्रभुत्व बनाउने व्यक्ति हुन् । विगतमा उनी ईश्वर पोखरेल र ओलीसँग उस्तै निकट थिए । यी दुई नेता अलग हुन लागेका संकेत पाएसँगै उनी ओलीनिकट रहे ।
उनले ओली प्यानलबाट सचिवको आकांक्षा राखेका थिए । त्यो नपाएपछि उपमहासचिवमा उमेदवारी दिए । तर, उमेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेपश्चात् उनले आफ्नो उमेदवारी कायम नरहने बताएका छन् ।
कृष्णगोपाल श्रेष्ठ
काठमाडौं उपत्यकामा ओली समूह बलियो बनाउन भूमिका खेल्नेमध्येका एक हुन्, कृष्णगोपाल श्रेष्ठ । शिक्षामन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री ओलीको तीव्र आलोचनाको प्रतिवाद गरेका कारण उनी चर्चामा थिए ।
त्रिभुवन विश्वविद्यालयको ‘कन्भोकेसन’ भाषणमा शैक्षिक विषय छाडेर उनले ‘ओली फुटबलको पेले हो पेले, ओलीलाई हटाउने कसैको ल्याकत छ ?’ भन्दै बोलेका थिए ।
यसपालि उनी अन्तिम समयसम्म पनि ओली प्यानलमा रहन मिहिनेत गरिरहेका थिए । ओलीले उमेदवार नबनाएपछि उनी पोखरेलतर्फ लागेका छन्
अग्नि खरेल
ओलीको गृहजिल्ला झापाका अग्नि खरेल तत्कालीन सभामुख सुवास नेम्वाङसँगै माधव नेपाललाई छाडेर ओली प्यानलमा लागेका व्यक्ति हुन् । त्यसयता कानुनमन्त्री, महान्यायाधिवक्तादेखि प्रधानमन्त्रीको सल्लाहकारसम्म भएर उनले ओलीसँगै काम गरे । खरेल यसपटक स्वतन्त्र रूपमा सचिवको उमेदवार बनेका छन् ।
आनन्द पोखरेल
दोलखाली नेता आनन्दप्रसाद पोखरेल लामो समय ओली समूहमा रहेर सक्रिय भए । ११औँ महाधिवेशनमा ओलीसँग दुःखी हुँदै उनले समूह परिवर्तन गरेका छन् । पोखरेलको प्यानलबाट उनले सचिवमा उमेदवारी दिएका छन् ।
लालबाबु पण्डित
ओलीका पक्षमा खुलेर बहस गर्ने र विरोधीप्रति आलोचनामा उत्रन तयार हुने नेता लालबाबु पण्डितले पनि उनको साथ छाडेका छन् । उनी पोखरेल प्यानलबाट सचिवका उमेदवार छन् ।
काशीनाथ अधिकारी
ओलीको आग्रह अस्वीकार गर्दै निष्क्रिय बसेका नेता हुन्, काशीनाथ अधिकारी । अधिकारीलाई ओलीले अनुशासन आयोगको अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । तर, उनले कुनै पदमा उमेदवारी दिएनन् । अधिकारीले नयाँलाई पालो दिने भनेका छन् ।
आरके मैनाली
वरिष्ठ वामपन्थी नेता आरके मैनाली ओलीसँगै १२ वर्ष जेलमा बसेका सहयोद्धा हुन् । ओलीसँग नेपाल कम्युनिस्ट पार्टीको धेरै लामो इतिहास रहेको भन्दै उनी सुखानीमा सहिद हुनबाट जोगिएका पात्रका रूपमा सम्झिन्छन् ।
ओली रामप्रसाद दाहालको संगतबाट कम्युनिस्ट बनेका थिए । रामप्रसाद सुखानीमा सहिद भए । त्यसयता ओलीले हरेक संगतलाई उपयोग गरेको उनको बुझाइ छ ।
“रामप्रसादजीसहित भएपछि ओली मोहनचन्द्र अधिकारीको संगतमा जानुभयो । त्यसपछि उहाँ सीपी मैनाली, म आरके मैनालीसहितसँगको संगतमा हुनुहुन्थ्यो,” मैनाली भन्छन्, “हामीलाई फाल्न माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालहरूलाई साथ लिनुभयो । विद्या, ईश्वरको साथ लिएर उहाँहरूलाई पनि फाल्नुभयो ।”
उनी बहुदलीय जनवादको प्रयोग पनि ओलीले उल्टो गरिरहेको आरोप लगाउँछन् । अझै ओलीले जिते पनि ईश्वर पोखरेलहरूको भविष्य सुखद हुने उनको टिप्पणी छ ।