काठमाडौं । चिसो बढेसँगै दिल्ली–एनसीआरको आकाश विषाक्त धुवाँले ढाकिएको छ ।
वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि पुगेपछि ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी)को सबैभन्दा कडा चरण ४ लागु गरिएको छ । भारतको राजधानीको औसत एक्यूआई ४९३ पुगेपछि वायु गुणस्तर व्यवस्थापन आयोगले यही डिसेम्बर १४ मा यो कदम चालेको हो ।
धेरै प्रतिबन्ध लागु गरिँदा समेत दिल्ली–एनसीआरको हावा प्रदूषित नै छ । प्रदूषणका कारण लगातार तेस्रो दिन पनि भारतको राजधानी ग्यास चेम्बरजस्तै बनेको छ ।
सोमबार दिल्लीका ११ स्थानमा प्रदूषणको स्तर ‘सिभियर प्लस’ (अत्यन्त गम्भीर) श्रेणीमा रह्यो । त्यहाँ एक्यूआई ४५० भन्दा माथि मापन गरिएको थियो ।
प्रतिकूल परिस्थितिमा विद्यालयहरू बन्द गरिएको छ । कार्यालयमा ‘वर्क फ्रम होम’ लागु गरिएको छ । ग्रेडेड रेस्पोन्स एक्सन प्लान ४ अन्तर्गत विभिन्न कडा प्रतिबन्ध लगाइएको छ ।
ग्रेडेड रेस्पोन्स एक्सन प्लान ४ अन्तर्गत निर्माण र भत्काउने कार्यमा सबैभन्दा कडा प्रतिबन्ध लागु गरिएको छ । सबै प्रकारका निर्माण, भत्काउने, माटोको काम, खन्ने, पाइलिङ तथा स्ट्रक्चरल कार्य पूर्ण रूपमा बन्द गरिएको छ । मेट्रो, रेलवे, एयरपोर्ट र राजमार्गजस्ता सार्वजनिक पूर्वाधारसम्बन्धी आपत्कालीन कामबाहेक अरू सबै कार्यमा रोक लगाइएको छ ।
यस्तै, स्टोन क्रसर, इँटाभट्टा, हट मिक्स प्लान्ट र खानी बन्द गरिएको छ । कोइला, फर्नेस तेल वा अरू अप्रमाणित इन्धनबाट चल्ने कारखाना पनि पूर्ण रूपमा ठप्प पारिएको छ ।
खुला रूपमा फोहोर वा बायोमास जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । डिजेल जेनेरेटर सेटको प्रयोग अस्पताल, डेटा केन्द्र र दूरसञ्चारजस्ता आपत्कालीन सेवामा मात्र सीमित गरिएको छ । धुलो वा उत्सर्जन बढाउने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।
सवारीसाधनमा पनि कडा प्रतिबन्ध लागु गरिएको छ । दिल्ली र एनसीआरका जिल्लाहरू — गुरुग्राम, फरिदाबाद, गाजियाबाद, नोएडा र ग्रेटर नोएडामा पेट्रोल र डिजेल चारपांग्रे सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ । अन्तरराज्य डिजेल बसहरूलाई दिल्ली प्रवेशमा रोक लगाइएको छ । इलेक्ट्रिक र सीएनजी बसहरूलाई भने अनुमति दिइएको छ ।
अत्यावश्यक वस्तु — दूध, तरकारी र फलफूल बोक्ने सवारीसाधनबाहेक अरू ट्रकको प्रवेशमा पनि कडाइ गरिएको छ । पुराना डिजेल माध्यम मालवाहक गाडीहरू दिल्लीमा प्रतिबन्धित छन् ।
केही क्षेत्र भने खुला राखिएको छ । अस्पताल, दमकल सेवा, पावरप्लान्ट, पानी सरसफाइ, विपद् व्यवस्थापन र वायु प्रदूषण नियन्त्रण टोलीजस्ता सबै जरुरी सेवालाई छुट दिइएको छ । मेट्रो, डीटीसी बसहरूलगायत सार्वजनिक यातायात सञ्चालनमा रहनेछन् । अतिरिक्त सीएनजी तथा इलेक्ट्रिक बसहरू थपिने र मेट्रोको फ्रिक्वेन्सी बढाइनेछ । स्वच्छ इन्धन प्रयोग गर्ने उद्योग खुला रहनेछन् । बैंक तथा वित्तीय संस्था, बजार र पसलहरू पनि सामान्य रूपमा खुला रहनेछन् ।
प्रदूषणका कारण विद्यालयमा पनि कडा प्रतिबन्ध लागु गरिएको छ । दिल्लीमा शिक्षा विभागले नर्सरीदेखि कक्षा–५ सम्मका विद्यार्थीका निम्ति विद्यालय बन्द गर्ने आदेश दिएको छ । भौतिक रूपमा सञ्चालन हुने कक्षा अर्को सूचना नगरिँदासम्म बन्द रहनेछन् ।
सबै विद्यालय प्रमुखलाई अनलाइन माध्यमबाट कक्षा सञ्चालन सुनिश्चित गर्न निर्देशन दिइएको छ । कक्षा–५ देखि ९ र ११ सम्मका विद्यार्थीका निम्ति ‘हाइब्रिड मोड’मा कक्षा सञ्चालन गरिनेछ ।
दिल्लीबाहेक नोएडा र गाजियाबादका जिल्ला मजिस्ट्रेटले पनि कक्षा–५ सम्मका विद्यालय बन्द गर्ने आदेश जारी गरेका छन् । कक्षाहरू अनलाइन सञ्चालन गर्न निर्देशन दिएका छन् । नोएडामा कक्षा–६ देखि १२ सम्मका कक्षा हाइब्रिड मोडमा सञ्चालन गरिनेछ ।
दिल्ली सरकारले सरकारी र निजी दुवै क्षेत्रका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ । सरकारी कार्यालयमा आधा कर्मचारी मात्र भौतिक रूपमा उपस्थित हुनेछन् । निजी कार्यालयमा पनि अधिकतम ५० प्रतिशत कर्मचारीलाई मात्र कार्यालय आउन अनुमति दिइएको छ ।
ट्राफिक जाम कम गर्न ‘स्ट्यागर्ड टाइमिङ’ अपनाउन भनिएको छ । केन्द्रीय सरकारका कार्यालयमा पनि ५० प्रतिशत वर्क फ्रम होम नियम लागु गरिएको छ।
प्रदूषणसँगै बाक्लो कुहिरोले भिजिबिलिटी घटाएको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सञ्चालन प्रभावित भएको छ । बाक्लो कुहिरो र प्रदूषणको धुवाँका कारण केही रेल पनि ढिलो चलिरहेका छन् ।