काठमाडौं । नेपाल स्रष्टा समाजले स्थापना दिवसको अवसर पारेर दुई साहित्यकारलाई सम्मान गर्ने भएको छ ।
समाजले ‘सुभद्रा–विश्वराज सम्मान–२०८२’ बाट कवि प्रह्लाद पोख्रेललाई नगद राशि २१ हजार १११ रुपैयाँसहित सम्मान गर्न लागेको छ । ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान–२०८२’ बाट युवा साहित्यकार अनिता पन्थीलाई नगद राशि १५ हजार १०० रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको समाजले जनाएको छ ।
दुवै सम्मान समाजको १९औँ स्थापना दिवसका अवसरमा यही पुस महिनाको तेस्रो साता प्रदान गरिने अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिए ।
कवि पोख्रेलका झन्डै डेढ दर्जन खण्डकाव्यसहित कविताकृति प्रकाशित छन् । ‘अनायोजिता’ उपन्यासकी स्रष्टा पन्थी वर्तमान पुस्ताकी सशक्त नारी हस्ताक्षरका रूपमा अगाडि आएकी छन् ।