काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा उपमहासचिव पदका उमेदवार योगेश भट्टराईले दुई समूहबीच अब सहमतिको सम्भावना सकिएको बताएका छन् ।
नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणको मुद्दामा यसअघि सहमतिको प्रयास गरिएको उनले उल्लेख गरे । तर, अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरणका निम्ति तयार नभएकाले प्रतिस्पर्धा निश्चित भएको उनले बताए ।
“हाम्रो अध्यक्षले तेस्रो कार्याकालका लागि उमेदवारी दिनुभयो । उमेदवारी दर्ताका हिसाबले उहाँले चौथोपटक नोमिनेसन फाइल गर्नुभयो,” भट्टराईले भने, “एउटा नेताले कतिपटकसम्म उमेदवारी दर्ता गर्ने ? कति कार्याकालसम्म एउटा व्यक्तिले नेतृत्व गरिरहने भन्ने प्रश्नमा हामीले दुई कार्यकाल लागु गर्न प्रयत्न गर्यौँ । अहिले नसके पनि यो मुद्दा अबका दिनमा स्थापित हुनेछ ।”
उनले अब महाधिवेशन प्रतिनिधिले नै नेतृत्वबारे निर्णय गर्ने बताए । उमेदवारको अन्तिम नामावली प्रकाशन भइसकेकाले अब सहमतिको सम्भावना निर्वाचनको प्रक्रियाका निम्ति मात्र बाँकी रहेको उनको भनाइ छ ।
“अब निर्वाचनको प्रक्रियामा मात्र सहमति हुन्छ, नेतृत्वको लागि सम्भावना सकियो,” भट्टराईले भने, “एउटै नेताको निरन्तरताले पार्टी चलायमान हुँदैन भन्ने महाधिवेशन प्रतिनिधिहरूले भोटमार्फत परिणाम दिनुहुनेछ ।”
ओली यसपालि पनि अध्यक्षका उमेदवार छन् । उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिँदै छन् । ओली र पोखरेल दुवै प्यानलसहित प्रतिस्पर्धामा छन् ।