काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता फारममा विवाद भएपछि पुनः प्रकाशन हुने भएको छ । क्रियाशील सदस्यता फारममा क्रमसंख्या नै नराखी जिल्लाहुँदै क्षेत्र, पालिका र वडामा पुगेपछि त्यसमाथि प्रश्न उठेका थियो ।
संस्थापन पक्ष र डा. शेखर कोइरालासमेतले प्रश्न उठाएपछि पुनः प्रकाशनको निर्णयमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति पुगेको हो ।
“पौने ९ लाख क्रियाशील सदस्यको २५ प्रतिशत क्रियाशील नवीकरण फारमसँगै पठाइएको हो । जसमा क्रमसंख्या समेत राखेर पठाइएको थियो,” केन्द्रीय कार्यालय स्रोतले बाह्रखरीसँग भन्यो, “अहिले थप फारम छापिएर आइसकेपछि क्रमसंख्या राख्दा समय लाग्छ त्यसैले यत्तिकै पठाउँ भन्ने महामन्त्रीको सुझावपछि यत्तिकै पठाइएको थियो ।”
स्रोतका अनुसार ती सदस्यता फारम वितरणका लागि क्षेत्रमा पुगेपछि क्रमसंख्या नभएको भन्दै प्रश्न उठेको थियो । नवलपरासी, बाँके, धनुषसहितका जिल्लाले प्रश्न उठाएपछि सदस्यता व्यवस्थापन केन्द्रीय समितिकी सदस्य सीता गुरुङले बैठकमा प्रश्न उठाएकी थिइन् ।
आइतबारदेखि विवाद सार्वजनिक भएपछि सोमबार सदस्यता व्यवस्थापन समितिमा पुनः प्रकाशसन गर्ने समझदारी भए पनि निर्णय भएको थिएन । मंगलबार डा. शेखर कोइरालाले हचुवामा फारम पठाइएको भन्दै सच्याउन सभापति शेरबहादुर देउवालाई नै भेटेर ध्यानाकर्षण गराएका थिए । मंगलबार बसेको सदस्यता व्यवस्थापन समितिले भने पुनः प्रकाशन गरी पठाउने निर्णय गरेको छ ।
“सदस्यता फारम पुनः प्रकाशन गरी क्रमसंख्यासमेत राखेर पठाउने निर्णय भएको छ,” सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सदस्य योगेन्द्र चौधरीले भने, “विदेशस्थित जनसम्पर्क समितिले बाँड्ने क्रियाशील सदस्यता फारम वितरणका लागि पनि पुस ५ गतेसम्मको म्याद तोकिएको छ ।” विदेशस्थित जनसम्पर्क समितिमा पनि क्रमसंख्याविहीन गएको थियो ।
“क्रियाशील सदस्यता फारम पुनः प्रकाशसन गरी दुई दिनभित्र क्षेत्र क्षेत्रमा पुर्याउने निर्णय भएको छ,” सदस्यता व्यवस्थापन केन्द्रीय समितिकी सदस्य सिता गुरुङले भनिन्, “अब विगतमा बुझेर लैजाने व्यक्तिको नामाम त्यति नै सदस्यता केन्द्रबाटै जिल्लाहरूलाई पठाइने छ ।” उनले क्रमसंख्यासहितको फारम पुगेपछि नयाँ सदस्यता वितरण हुने बताइन् ।
नेपाली कांग्रेसले नयाँ सदस्यता वितरण पुस ३ गतेभित्र गरिसक्न केन्द्रीय समितिको कार्यतालिकासहित परिपत्र गरेको छ । तर, अब सदस्यता फारम भने ३ गतेभन्दा पछि पुग्ने अवस्था बनेको छ । “सदस्यता फारम छापिन थालिसकेको छ । कर्णाली सुदूरपश्चिमसहित दुर्गममा प्राथमिकताक्रमा प्लेनबाट सदस्यता फारम पठाइने छ,” गुरुङले भनिन्, “३ गतेसम्म पुगिसक्ने गरी प्लेनमा फारम पठाएर कार्यतालिकाकका केही मात्र तलमाथि हुने गरी काम अघि बढाइनेछ ।”