काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध बालुवाटारमा प्रदर्शन गर्दा प्रहरीको गिरफ्तारमा परेका गरिखान देउ अभियानका सदस्यलाई भेट्न जेनजी मिराज ढुंगाना समूह प्रहरी वृत्त मालीगाउँ जाँदैछन् ।
अभियानका संयोजक ढुंगानासहितको टोली भेट्न गइरहेको जेनजी अगुवा हरिश भट्टले जानकारी दिए ।
सरकारले जेनजी विद्रोहका मागहरू पूरा गर्ने नाममा झुठा आश्वासनसहितको सम्झौता गरेको भन्दै त्यसविरुद्ध मंगलबार साँझ सो समूहले प्रदर्शन गरेको थियो ।
जेनजी अगुवा भट्टका अनुसार, सम्झौता पत्रसहित बालुवाटार गेटमा ललीपप टाँसिएको थियो । "बालुवाटार गेटमा सम्झौतापत्रसहितको ललीपप टाँसेका थियौँ । त्यसक्रममा हाम्रा दुईजना साथी अमृतकुमार बोहोरा र प्रकाश शर्मालाई प्रहरीले गिरफ्तार गरेको हो । उहाँहरूलाई भेट्न जाँदैछौँ," उनले भने ।
काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार, जानकारी पक्राउ परेका दुवैजनालाई प्रहरी वृत्त मालीगाउँ लगिएको छ ।