काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्नका लागि तयार गरिएका प्रस्तावहरूलाई केही दिनभित्रै अन्तिम रूप दिन सकिने बताएका छन् । ती प्रस्तावहरू अमेरिकी अधिकारीहरूसँगको वार्तामा तयार पारिएको थियो । ती प्रस्तावहरूलाई अमेरिकी दूतहरूले रुससमक्ष प्रस्तुत गर्नेछन् ।
बर्लिनमा दुई दिनसम्म चलेको वार्तापछि अमेरिकी अधिकारीहरूले सोमबार रुस र युक्रेनबीचका ९० प्रतिशत समस्याग्रस्त मुद्दाहरू समाधान भएको बताएका थिए । तर, यो सकारात्मकताका बाबजुद पनि हालको वार्तामा रुसी पक्ष अनुपस्थित रहेको सन्दर्भमा युद्धको अन्त्य नजिक छ वा छैन भन्ने अझै स्पष्ट नभएको बताइएको छ ।
मंगलबार बिहान युक्रेनी राष्ट्रपतिले अमेरिकी कंग्रेसले सुरक्षा ग्यारेन्टीसम्बन्धी विषयमा मतदान गर्ने अपेक्षा गरिएको बताएका थिए । अन्तिम रूप दिइएका कागजातहरूको सेट आज वा भोलि तयार हुने सम्भावना रहेको धारणा व्यक्त गरेका थिए । उनले त्यसपछि अमेरिकाले रुसी पक्षसँग परामर्श गरेपछि उच्चस्तरीय बैठकहरू यसै सप्ताहन्तमा हुनसक्ने बताएका छन् ।
पत्रकारहरूसँगको कुराकानीमा उनले आफूहरू पाँचवटा कागजातमा काम गरिरहेको बताए । तीमध्ये केही सुरक्षा ग्यारेन्टीसँग सम्बन्धित छन्, जुन कानुनी रूपमा बाध्यकारी हुनेछन् । यसको अर्थ ती अमेरिकी कंग्रेसबाट मतदान गरी अनुमोदन गरिनेछन् । उनले ती ग्यारेन्टीहरू नेटोको धारा ५ सँग मिल्दोजुल्दो हुने बताएका थिए ।
सोमबार अमेरिकी अधिकारीहरूले सुरक्षा प्याकेजमा के–के समावेश हुनेछन् र शान्ति सम्झौता भएपछि रुसले थप भूभाग कब्जा गर्न खोजेमा के गर्ने भन्ने विषयमा विवरण दिन अस्वीकार गरेका थिए । यद्यपि, उनीहरूले अमेरिकाले युक्रेनमा सैनिक पठाउने कुनै योजना नरहेको स्पष्ट पारेका थिए ।
बेलायत, फ्रान्स, जर्मनी र आठ अन्य युरोपेली देशका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ‘इच्छुकहरूको गठबन्धन’का सेनाहरूले युक्रेनको सेनाको पुनर्जीवन, युक्रेनको हवाई सुरक्षामा तथा सुरक्षित समुद्री मार्गहरूलाई समर्थन गर्न युक्रेनभित्र परिचालन गरेर सहयोग गर्न सक्ने बताएका थिए । तर, उनीहरूले यी ग्यारेन्टीहरू नेटोको धारा–५ सँग मेल खाने भन्ने सहमतिबाट पछि हटेका थिए । साथै, वासिङ्टन र किभबीच छलफल भइरहेको यस्तो प्रकारको प्याकेजमा रुस सहमत हुने कुनै स्पष्ट संकेत पनि देखिएको छैन ।
मंगलबार क्रेमलिनले सुरक्षा ग्यारेन्टीसम्बन्धी प्रस्तावहरूको विवरण आफूहरूले नदेखेको बताएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, “हामीले अहिलेसम्म अखबारका रिपोर्टहरू मात्रै देखेका छौँ, तर हामी तिनको जवाफ दिने छैनौँ । हामीले कुनै बुँदाहरू देखेका छैनौँ ।”
पेस्कोभले मस्कोले विगतमा किभलाई रुसले दाबी गरेका भूभागहरू सुम्पिन र युक्रेनमा कुनै पनि विदेशी सेनाको उपस्थितिलाई अस्वीकार गर्न माग गर्दै आएको बताए । उनले द्वन्द्व र आफ्ना सैन्य लक्ष्यहरू प्राप्त गर्ने सम्बन्धमा आफ्नो अडान परिवर्तन नगरेको स्पष्ट पारे ।
पेस्कोभका अनुसार, “हाम्रो अडान सबैलाई राम्ररी थाहा छ । यो सुसंगत, पारदर्शी र अमेरिकीहरूका लागि स्पष्ट छ । सामान्यतया युक्रेनीहरूका लागि पनि यो स्पष्ट छ ।”
रुसका उपविदेशमन्त्री सर्गेई यार्बकोभले रुसले कुनै पनि परिस्थितिमा युक्रेनमा नेटो देशका सेनाहरू सञ्चालन गर्न सहमति नदिने बताएका थिए । यो अभिव्यक्तिमा नेटो देशहरूबाट अलग, गैर–नेटो कमान्डअन्तर्गत सञ्चालन हुने सेनाहरू पनि समावेश छन् वा छैनन् भन्ने कुरा स्पष्ट गरिएको थिएन ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले सोमबार शान्ति रुसको आक्रमण सुरु भएयताका कुनै पनि समयभन्दा नजिक रहेको बताएका थिए । तर निजी रूपमा युरोपेली अधिकारीहरूले भने यस चरणमा वार्ताहरू मस्को र किभबीच दिगो सम्झौतामा पुग्नुभन्दा पनि ट्रम्पको ह्वाइट हाउसलाई युक्रेन समर्थनमा प्रतिबद्ध राखिराख्ने विषयमा बढी केन्द्रित रहेको बताएका छन् ।
युक्रेनी टोली र अमेरिकी वार्ताकारहरूबीचको मुख्य अड्चन भूभाग सुम्पने मुद्दा नै रहेको छ । ट्रम्पले युक्रेनले डोनबास क्षेत्रका बाँकी भागहरू छोड्नुपर्ने चाहना राखेका छन्, भने युक्रेन वर्तमान सम्पर्क विन्दुमा सीमाहरू स्थिर राख्न चाहन्छ । बर्लिन वार्तापछि जेलेन्स्कीले भनेका थिए, “हामी भूमिको मुद्दामा छलफल गरिरहेका छौँ । तपाईंलाई थाहा छ, यो मुख्य मुद्दाहरूमध्ये एक हो । यस विन्दुमा यसमा कुनै सहमति जुटिसकेको छैन ।”
स्टिभ विट्कोफ र जारेड कुश्नरको नेतृत्वमा रहेको अमेरिकी वार्ता टोलीले एउटा सम्झौताका रूपमा समाधान प्रस्ताव गरेको छ, जसअनुसार युक्रेन फिर्ता हुनेछ । तर, रुस अगाडि बढ्ने छैन र गैरसैनिकीकृत क्षेत्र ‘एक स्वतन्त्र आर्थिक क्षेत्र’ बन्नेछ । रुसले सेनाको सट्टा प्रहरी र राष्ट्रिय गार्ड प्रयोग गर्न सक्ने संकेत दिएको छ, जसको अर्थ उनीहरूले अझै पनि त्यो भूभागमा नियन्त्रण कायम राख्ने अपेक्षा गरिरहेका छन् ।
जेलेन्स्कीले पुनः जोड दिँदै भने, “म फेरि एकपटक स्पष्ट गर्न चाहन्छु– ‘स्वतन्त्र आर्थिक क्षेत्र’को अर्थ रुसको नियन्त्रणमा हुनु होइन । न कानुनी रूपमा, न त व्यावहारिक रूपमा, हामी डोनबास यसको अस्थायी रूपमा कब्जा गरिएको भागलाई रुसी भूभागका रूपमा मान्यता दिनेछौँ, कदापि होइन ।”
दुवै पक्ष भूमि नियन्त्रणको मुद्दामा कसरी अगाडि बढ्नेछन् भन्ने अझै स्पष्ट छैन । जेलेन्स्कीले यसअघि पनि स्वतन्त्र आर्थिक क्षेत्रजस्ता सम्झौताका समाधान युक्रेनी जनताले जनमत संग्रहमार्फत समर्थन गरेमा सैद्धान्तिक रूपमा सम्भव हुन सक्ने संकेत दिएका थिए ।
सबैभन्दा गम्भीर अवरोध तब आउन सक्छ, जब यी योजनाहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरिन्छन्, जसले आफ्ना युद्ध लक्ष्यहरूमा सम्झौता गर्न इच्छुक भएको कुनै संकेत दिएका छैनन् ।
जेलेन्स्कीले टिप्पणी रेकर्ड गर्दै भने, “यदि पुटिनले सबै प्रस्ताव अस्वीकार गरे भने, हामी अहिले हाम्रो विमानमा अनुभव गरिरहेको अवस्था टब्र्युलेन्समै टुंगिनेछौँ ।”
मंगलबार विभिन्न बैठकहरूमा सहभागी हुन बर्लिनबाट नेदरल्यान्ड्सतर्फ उडिरहेका बेला उनले पुटिनले सबै कुरा अस्वीकार गरेमा अमेरिकाले प्रतिबन्धको दबाब बढाउने र युक्रेनलाई थप हतियार उपलब्ध गराउने विश्वास व्यक्त गरेका थिए । उनका अनुसार, यो अमेरिकासँग युक्रेनको तर्फबाट गरिने एक उचित माग हुनेछ ।