site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यामरुन ग्रीन बने सर्वाधिक महँगा विदेशी खेलाडी, स्थानीय खेलाडीमा ठूलो मूल्य

काठमाडौं । बहुप्रतीक्षित इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सन सफलतापूर्वक सम्पन्न भएको छ । साउदी अरेबियाको जेद्दामा भएको यस वर्षको अक्सनमा क्लबहरूले कीर्तिमानी खर्च गर्नुका साथै केही आश्चर्यजनक अनुबन्धसमेत गरेका छन् । 

आईपीएलका १० वटै फ्रेन्चाइजीहरूले जम्मा ७७ खेलाडी भित्र्याउँदा कुल दुई अर्ब १५ करोड ४५ लाख भारतीय रुपैयाँ खर्च गरे । जसमा २९ जना विदेशी खेलाडी समावेश छन् । आगामी वर्ष हुने प्रतियोगिताका निम्ति कुल ३६९ खेलाडी सर्टलिस्टमा थिए ।

विदेशी खेलाडीमा कीर्तिमानी मूल्य 
अस्ट्रेलियाका स्टार अलराउन्डर क्यामरुन ग्रीन आईपीएल–२०२६ का सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारतीय रुपैयाँमा आफ्नो टोलीमा अनुबन्ध गरेको हो ।

शाहरुख खानको स्वामित्वमा रहेको कोलकाताले ग्रीनलाई अनुबन्ध गर्न चेन्नई सुपर किंग्ससँग कडा प्रतिस्पर्धा गरेको थियो । यो बोली आईपीएल इतिहासमा कुनै पनि विदेशी खेलाडीका लागि लागेको हालसम्मकै सबैभन्दा महँगोसमेत हो । 

ग्रीनले आफ्नै देशका सहमकर्मी मिचेल स्टार्कको आईपीएल–२०२४ मा कोलकाताले नै लगाएको २४.७५ करोड रुपैयाँको कीर्तिमान तोडेका हुन् ।

स्थानीय खेलाडी भित्र्याउन प्रतिस्पर्धा
यस वर्षको लिलामीको अर्को सबैभन्दा चकित पार्ने पक्ष अनक्याप्ड (राष्ट्रिय टोलीबाट नखेलेका) खेलाडीहरूले पाएको ठूलो मूल्य थियो ।

प्रशान्त वीर र कार्तिक शर्मा चेन्नई सुपर किंग्समा समान १४ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भए । यो कुनै पनि अनक्याप्ड खेलाडीका लागि आईपीएल इतिहासमा अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक हो ।

जम्मू–कश्मिरका अकिब डारलाई दिल्ली क्यापिटल्सले आठ करोड ४० लाख रुपैयाँमा किन्यो । मंगेश यादवलाई रोयल च्यालेन्जर्स बेंगलोरले पाँच करोड २० लाख रुपैयाँमा खरिद गर्‍यो ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्