site stats
बाह्रखरी :: Baahrakhari
देश
फर्मासिस्टबिना फार्मेसी चलाउनेलाई कारबाही गर्छौँ : स्वास्थ्यमन्त्री  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले फर्मासिस्टबिना फार्मेसी सञ्चालन गर्नेलाई कारबाही गरिने बताएका छन् । मंगलबार औषधि व्यवस्था विभागले फर्मासिस्ट तथा सहायक फर्मासिस्ट व्यवसायीहरूका लागि सञ्चालन गरेको तालिममा मन्त्री बस्नेतले फर्मासिस्टबिनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम भएको बताए । 

नेपालमा अहिले फर्मासिस्टको संख्याभन्दा फार्मेसीको संख्या बढी रहेको भन्दै उनले फार्मेसीहरूले बदमासी गरिरहेको बताए । “यसरी फर्मासिस्टबिनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारबाही गर्नेछौँ ।”

स्वास्थ्य सेवा विभागले गरेको पछिल्लो अनुगमनमा  कतिपय फार्मेसी फर्मासिस्टबिनै चलिरहेको, अर्कै फर्मासिस्टको लाइसेन्स राखिएको तथा फार्मेसी पढिरहेका विद्यार्थी राखेर चलाइरहेको पाइएको अनुभव मन्त्री बस्नेतले सुनाए । 

उनले औषधिको भण्डारण र गुणस्तरलाई समेत ध्यानमा राखेर व्यवसाय गर्नुपर्नेमा जोड दिए ।

तीन दिनसम्म चल्ने क्षमता अभिवृद्धि तालिममा सयभन्दा बढी फर्मासिस्ट, सहायक फर्मासिस्ट सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्