site stats
बाह्रखरी :: Baahrakhari
देश
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
फाइल तस्बिर

चितवन । कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो ।
 
क्षेत्रीय होटेल संघ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।
 
हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार लामो समयदेखि रोकिएको महोत्सव यसपटकदेखि नयाँ ढङ्गले गर्न लागेको बताए । महोत्सवका लागि सरोकारवालासँग छलफल सुरु गरिएको छ । हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरेर अघिल्ला महोत्सवभन्दा यसपटक फरक बनाउन खोजिएको उनले बताए । 
 
पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यस वर्ष त्यस्ता गतिविधि नगर्ने उनको भनाइ छ । यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने योजनामा आयोजक रहेको क्षेत्रीय होटेल संघका महासचिव गुणराज थपलियाले बताए । योसँगै डुंगा दौड, पर्यटकीय गोष्ठी र सेमिनार गरिनेछ ।
 
हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता भएको भन्दै उनले हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्यांकन गरी हात्तीलाई सुन्दरीको उपाधि दिइनेछ । महोत्सवमा हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइनेछ । 

यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । हात्तीको संरक्षण प्राथमिकतामा राखिएको भन्दै उनले हात्तीको स्याहार, स्वास्थ्यसहितको कार्यक्रम अहिलेको मुख्य आकर्षण हुने बताए । 
 
यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्