site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविता उत्सवमा सुनिए कविहरू

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको उपलक्षमा आयोजना गरेको ‘कविता उत्सव–२०८२’मा विभिन्न कविहरूले आफ्ना कविता वाचन गरे । 

कविता उत्सवमा कविहरू श्रवण मुकारुङ, प्रोल्लास सिन्धुलीय, केशव सिलवाल, शकुन्तला जोशी, मिश्रामाया गुरुङ, विना थिङ, केवल बिनावी, रिमा केसी, अनिल श्रेष्ठ र सुरज रानाले नेपाली भाषामा कविता वाचन गरे । 

त्यस्तै, मैथिली भाषामा रुपा झा, नेपाल भाषामा रजनिमिला महर्जन, खस भाषामा ओम रिजाल, थारू भाषामा भूमिका थारू, डोट्याली भाषामा कर्णदयाल सोराडी, तामाङ भाषामा मुक्तान थेबा, थुलुङ भाषामा महेन्द्र थुलुङ राई र लिम्बू भाषामा भीमा खजुमले गणतान्त्रिक चेतनाले भरिएका कविता वाचन गरेका थिए । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन कविका कविता र साहित्यकारका सिर्जनाले जनतालाई जागृत गराएको इतिहास रहेको उल्लेख गरे ।
 
कवि हृदय भएका मानिसले संवेदनशीलता बुझ्ने भएकाले ती लोकतन्त्र र गणतन्त्रको समृद्ध समाज निर्माणका लागि अपरिहार्य भएको मन्त्री पाण्डेले बताए । 

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भोजपुरी भाषाको गीत ‘दिलसे सोच’ प्रस्तुत गरे । 

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कविता उत्सवमा वाचन गरिएका कविताको लेखन, भाषा र शैली जे भए पनि आजको गणतान्त्रिक चेतलाई आत्मसात् गरेको बताएको प्राज्ञ चेतनाथ धमलाले जानकारी गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्