site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी प्रदेशमा ‘ब्रेक’ भएको मनसुनले तोड्यो रेकर्ड, यस्तो छ कारण
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशमा मनसुन भित्रिएको दश दिन भइसकेको छ । जेठ १५ गते राति कोसी प्रदेशमा मनसुन भित्रिएको थियो । 

तर, मनसुन कोसी प्रदेशबाट पश्चिमतर्फ अगाडि बढेको छैन । अझै केही समय कोसी मै मनसुन सीमित रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“अझै मनसुन कोसीबाट अगाडि बढ्न केही समय लाग्नेछ । कोसीमा ब्रेक भएको मनसुन त्यहाँभन्दा अगाडि बढ्न सकेको छैन,” मौसमविद् सञ्जिव अधिकारी बाह्रखरीसँग भन्छन्, “अझै तीन दिन मधेस प्रदेशका केही स्थानसहित देशका केही भूभागमा सुक्खा हुनेछ ।” 

पश्चिमी र स्थानीय वायुकै कारण कोसीबाहेकका अन्य प्रदेशमा वर्षा भइरहेको उनी बताउँछन् । मनसुनी वर्षा हुनलाई मनसुनी वायुका कारण वर्षा हुनुपर्ने उनी बताउँछन् । 

मनसुन भएको घोषणा गर्नलाई दुई दिनसम्म वर्षा हुनुपर्ने, ६० प्रतिशतभन्दा बढी भूभागमा वर्षा भएको हुनुपर्ने उनको भनाइ छ । यी मापदण्ड पूरा भएपछि मात्रै मनसुनको घोषणा गर्न सकिने मौसमविद् अधिकारी बताउँछन् । 

तर, अहिले पूर्वीय वायुभन्दा पश्चिमी वायु नै कोसीदेखि बाहेकका प्रदेशमा सक्रिय रहेको उनको भनाइ छ ।  

मनसुनी वायु कमजोर हुनु नै मनसुन कोसीबाट पश्चिततर्फ नसर्नुको मुख्य कारण भएको उनले बताए । 

“अहिले पनि कोसी प्रदेशबाहेकका भूभागमा पश्चिमी र स्थानीय वायु सक्रिय छ । पश्चिमी र स्थानीय वायुभन्दा मनसुनी वायु स्ट्रङ भएर त्यसलाई धकेल्दै पश्चिमतर्फ अगाडि बढ्दा मनसुन फैलिँदै जाने हो,” मौसमविद् अधिकारी भन्छन्, “तर, मनसुनी वायु पश्चिमी वायुभन्दा कमजोर हुँदा ठेल्न सकेन र कोसीमै सीमित रह्यो ।” 

पश्चिमी वायुभन्दा मनसुनी वायु थप सक्रिय र स्ट्रङ भएपछि मात्रै अन्य प्रदेशमा मनसुन फैलिँदै जाने उनको भनाइ छ । 

मौसमविद् अधिकारीका अनुसार गत वर्ष कोसी प्रदेशमा नौ दिन मनसुन सीमित भएको थियो । तर, यो वर्ष यो रेकर्ड तोडिएको छ । १५ गते राति कोसीमा आइपुगेको मनसुन त्यहाँबाट अगाडि सर्न सकेको छैन । 

मनसुन पूर्वबाट प्रवेश गरी सुदूरपश्चिमसम्म फैलिन्छ । यसका लागि केही समय लाग्ने गरेको छ । 

मौसमविद् डेबिड ढकालका अनुसार गत वर्ष मनसुन देशभर फैलिन करिब १३ दिन लागेको थियो । 

सामान्यतया मनसुन देशभर फैलिन सातदेखि १२/१५ दिनसम्म लाग्ने गरेको उनी बताउँछन् । 

गतवर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन असार १० सम्म लागेको थियो । 

मनसुन प्रवेश गरेपछि पश्चिमबाट वायु पूर्वतर्फ चल्यो भने मनसुन देशभर फैलिन लामो समय लाग्ने तर हावाको बेग पूर्वबाट पश्चिमतर्फ चल्यो भने चाँडै मनसुन देशभर फैलिने गरेको मौसमविद् ढकाल बताउँछन् ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्