site stats
बाह्रखरी :: Baahrakhari
देश
सौर्यबत्ती जडान गर्दा साढे दुई करोड हिनामिना, गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सौर्यबत्ती जडान कार्यक्रम सञ्चालन गर्दा दुई करोड ४९ लाख ४० हजार ११० रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ ।

बिहीबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा यादवसहित चक्रघट्टा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, लेखापाल सञ्जयकुमार ठाकुर, जिल्ला शाखा प्रमुख राम कैलाश राय यादव, सबइन्जिनियर सन्तोष राय र सबइन्जिनियर राजु रायलाई विपक्षी बनाइएको छ ।

यस्तै, स्काई राइज ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही उक्त कम्पनीका प्रोप्राइटर जय प्रकाश यादव, एकके स्टोर्स मलंगा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजुकुमारी शाह र जियो टेक्निकल एन्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगिताकुमारी विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

चक्रघट्टा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाबाट सौर्यबत्ती जडान कार्यक्रमका लागि छुट्टयाइएको बजेट टुक्राटुक्रा पारी खरिद गरेको कार्यमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा उनीहरूले दुई करोड ४९ लाख ४० हजार ११० रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्