site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी, नारायणीको जलसतह सतर्कता तह आसपास रहने, यी जिल्लामा बाढीको जोखिम
सप्तकोसी नदी र ब्यारेजको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार ५) पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, कैलाली र कञ्चनपुरमा बाढीको ‘मध्यम’ जोखिम औँल्याइएको छ । यी जिल्ला भई बहने अधिकांश साना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ ।

पाँचथर, तेहथुम, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, सिरहा, धनुषा, महोत्तरी भई बहने अधिकांश साना नदीमा बहाव सामान्य बढ्ने अनुमान छ ।

तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, अछाम, दैलेख, दार्चुला, डोटी र डडेलधुरा भई बहने अधिकांश साना नदीमा पनि बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, नारायणी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने महाशाखाको पूर्वानुमान छ । कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कताभन्दा तह तलै रहने अनुमान छ । पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, वाग्मती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने सम्भावना छ ।

b1-1750306413.jpg

b2-1750306413.jpg

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्