site stats
बाह्रखरी :: Baahrakhari
देश
मुस्ताङको लोमान्थाङ क्षेत्रमा पनि आयो बाढी, कालीगण्डकी वरपर सतर्कता अपनाउन आग्रह

तस्बिर–टासी नर्बु गुरुङको फेसबुकबाट 


काठमाडौं । मुस्ताङको लोमान्थाङ क्षेत्रमा पनि अहिले बेलुकापख बाढी आएको छ । चीनतर्फबाट उक्त बाढी आएको स्थानीय प्रशासनले जनाएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारका अनुसार बेलुका साढे ५ बजेतिर सेन्जुङ खोलामा बाढी आएको हो । 

“सेन्जुङ खोलामा उच्च बाढी आएको छ । वरपरका क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको छ,” उनले भने, “यो बाढी साढे ५ बजेतिरबाट आएको हो । अहिले पानीको सतह बढेको छ ।”

उनका अनुसार बस्तीमा जोखिम देखिएको छैन । कागबेनी, थार, सुसारलगायतका क्षेत्रका स्थानीयलाई सुरक्षित रहन सूचित गरिएको उनले जानकारी गराए । 

सोही क्षेत्रमा रहेका एक प्रहरीले दिएको जानकारीअनुसार कोरला नाकानजिकै रहेको न्याम्दो खोलामा लेदोसहितको बाढी आएको छ । उनले अहिले आफूहरू वरिपरिका बस्तीमा रहेका बासिन्दालाइ सुरक्षित स्थानमा रहन आग्रह गर्दै हिँडेको बताए ।

लोमान्थाङ गाउँपालिका वडा न. ४ चुङजुङ,न्याम्डोकस्थित  छुकार खोलाबाट लेदोसहितको बाढी आएको  छ । कोरला नाकाभन्दा माथि ठुलो पहिरो गएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । छुसाङ ,कागबेनी, जोमसोमलगायत कालीगण्डकी किनारका सबै बस्तीलाइ सुरक्षित रहन प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्