काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बिहानैबाट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चितवन, दाङ, गुल्मीलगायत स्थानमा वर्षा भइरहेको हो । मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान साढे ७ बजे चितवन र आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।
“दाङमा पछिल्लो एक घण्टामा ३२.६ र गुल्मीमा २७.४ मिलिमिटर वर्षा भएको छ,” मौुसमविद् अधिकारीले भने, “यी स्थानमा अहिले पनि वर्षा भइरहेको छ ।”
यसैबीच, विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।
वाग्मती, गणडकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
विभागका अुनसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी, लुम्विनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।