काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले एन्फा यू–१६ युथ लिगमा फ्रेन्डस क्लबलाई २–० ले पराजित गरेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा पुलिसले फ्रेन्डसलाई पराजित गरेको हो ।
पुलिसको जितमा अप्सन राई र समिर राईले समान एक गोल गरे । पुलिसले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ५८औँ मिनेटमा समिरले पुलिसलाई अग्रता दिलाए । खेलको ८८औँ मिनेटमा अप्सनले अग्रता दोब्बर बनाउँदै टोलीको जित सुनिश्चित गरे ।
त्यसअघि खेलको ७७औँ मिनेटमा फ्रेन्डसका प्रशान्त भण्डारीले रातो कार्डको दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।
लिगमा पुलिसको यो लगातार दोस्रो जित हो । टोलीले यसअघि पहिलो खेलमा न्युरोड टिम (एनआरटी) लाई ६–० ले पराजित गरेको थियो ।
जितसँगै टोलीले ६ अंक बनाएको छ । अब उसले तेस्रो खेलमा अर्काे विभागीय टोली एपीएफको सामना गर्नेछ । खेल शुक्रबार (असार २७ गते) दिउँसो ४ बजे हुनेछ ।
पहिलो हार व्यहोरेको फ्रेन्डसले भने तेस्रो खेलमा शुक्रबार (असार २७ गते) संकटा क्लबको सामना गर्नेछ । खेल दिउँसो १ बजे हुने तालिका छ ।