काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यू–१६ युथ लिगमा संकटा क्लबविरुद्ध साँघुरो जित निकालेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा फ्रेन्ड्सले संकटाविरुद्ध १–३ को साँघुरो जित निकालेको हो ।
फ्रेन्ड्सको जितमा मन्दीप ढुंगेलले दुई गोल गर्दा प्रभात बिसीले एक गोल गरे । संकटाका पेम्बा तामाङले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको ४५औँ मिनेटमा मन्दीपले फ्रेन्ड्सलाई अग्रता दिलाए । ६५औँ मिनेटमा प्रभातले अग्रतालाई दोब्बर बनाए ।
७०औँ मिनेटमा संकटाका पेम्बाले गोल गर्दै टोलीलाई १–२ को अवस्थामा ल्याए ।
७७औँ मिनेटमा मन्दीपले आफ्नो दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै फ्रेन्ड्सले लिगमा ६ अंक जोडेको छ । यसअघि फ्रेन्ड्सले डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडविरुद्ध ७–० को जित निकालेको थियो । उसले अब चौथो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
खेल आगामी असार ३० गते (सोमबार) दिउँसो १ बजे हुने तालिका छ ।
पराजित संकटाले भने चौथो खेल विभागीय टोली एपीएफसँग खेल्नेछ । खेल आगामी असार ३१ गते (मंगलबार) बिहान १० बजे हुनेछ ।