काठमाडौं । राष्ट्रिय यू–१६ क्रिकेट खेलाडी सुशील रावलले आर्थिक सहयोगको अपिल गरेपछि रुप्से होलिडेजले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँग समन्वय गरी रावललाई एक साताभित्र नगद सहयोग हस्तान्तरण गर्ने कम्पनीले जनाएकाे छ ।
राज्यले मात्रै सबै कुरा गर्न नसक्ने र यसमा पब्लिक प्राइभेट पार्टनरसिपको पनि उतिकै महत्त्व हुने भन्दै कम्पनीले रावललाई सहयोग गर्ने घोषणा गरेको हो ।
एसीसी यू–१६ इष्ट जोन कप खेलेका रावलले शुक्रबार बिहान मात्रै सहयोगको आवश्यकता बताएका थिए । उनले आफू यू–१९ क्रिकेट छनोटका लागि थप तालिमका लागि भारत जान लागेको र त्यसका लागि कम्तीमा एक लाख रुपैयाँ लाग्ने बताएपछि कम्पनीले सो रकम सहयोग गर्ने जनाएको हो ।