site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सत्ताको घिनाहा खेल

शिरीष रानाभाट


समाजवादको नाराले मात्र बल्दैन गरिबको चुलो हेर
नांगिन्छौ कति अझै छोडिदेऊ गर्न कुरा ठूलो हेर
भ्रष्टाचार र सत्ताको लुछाचुँडी यसरी नै लम्बिने हो भने
बनाउनेछन् जनताले जरुर तिम्रो दम्भ धुलो हेर ।

०००

इमान रातारात बिक्छ यहाँ सत्ताको घिनाहा खेल छ
स्वार्थी र पदलोलुपहरूमा कुर्चीका लागि ठेलमठेल छ
विश्वास कर्कलोको पातमा अल्झेको पानीको थोपा बन्छ
आशा बाफिन्छ किनकि यहाँ छरपस्ट जालझेल छ ।

०००

श्रमजीवीको रगत र पसिनाले धानिएको मेरो मुलुक छ
जालझेल र छलछाममा झन् तानिएको मेरो मुलुक छ
आसले निम्त्याएका लासहरू थुप्रिँदा छन् यहाँ दिनदिनै
लोभ/भ्रष्टाचारको ‘सैन खटिरो’ गानिएको मेरो मुलुक छ ।
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्