site stats
बाह्रखरी :: Baahrakhari
देश
चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

काठमाडौं । वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिरोको जोखिममा परेका छन् । यो वर्षको वर्षामा काठमाडौंको चन्द्रागिरि–१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् । गत वर्ष असोजको अविरल वर्षासँगै पहिरो गएका वडा नम्बर–१, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन् ।

तीनमध्ये पनि वडा नम्बर–२ बढी उच्च जोखिममा छ । गत वर्ष सोही स्थानमा पहिरोबाट घरहरू पुरिनुका साथै दुईजनाको मृत्यु भएको थियो । “नगरका २०० स्थानमा पहिरो रोकथामका लागि प्लास्टिक पठाइएको छ,” वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले भनिन् ।

चन्द्रागिरि–१ का वडाध्यक्ष हरि मगरले वडाका खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिए । खास गरी विकास निर्माणका क्रममा डोजर चलाइएका स्थानमा पहिरो जाने, भू–क्षयलगायत समस्या देखिएको उनले बताए ।

आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका कार्यालय आएकी वडा नम्बर–२ की अम्बिका सञ्जेलले विकास गर्ने भन्दै जमिनमा जथाभावी डोजर चलाउने र वर्षाअगाडि निर्माण नगरिदिँदा समस्या निम्तिएको बताइन् । वडा नम्बर–५ स्थित राधाकृष्ण टोलमा झन्डै १०० मिटर बाटोको भाग खोलामा खसेको छ । नजिकै कभर्ड हल बनाउँदा माटो खोस्रिएका कारण त्यहाँ पहिरो गएको स्थानीयले बताएका छन् ।

वडा नम्बर–९ स्थित शान्ति स्तूपका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन गरिएको छैन । वडा नम्बर–८ का पनि केही भाग पहिरोको उच्च जोखिममा छन् ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यो वर्ष आकस्मिक विपद् व्यवस्थापनका निम्ति तीन करोड रुपैयाँ बजेट व्यवस्था गरिएको जानकारी दिए । दीर्घकालीन समाधानका निम्ति भिरालो जमिनमा वृक्षरोपण र जोखिमयुक्त स्थानमा बायो इन्जिनिरिङ गर्न खोजिएको उनले बताए ।

“जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेकाले आगामी दिनमा प्राविधिक जाँचका आधारमा मात्र अनुमति दिइनेछ,” उनले भने । रासस

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्