काठमाडौं । नुवाकोटको त्रिशूली नदीमा शनिबार (असार २८) राति बाढी आएको छ । वेत्रावती जलमापन केन्द्रमा जलसतह बढेर सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यहाँ हरेक १० मिनेटमा जलसतह ०.०१ सेन्टिमिटरका दरले बढिरहेको विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सागर मिश्रले जानकारी दिए । “यो न्यून, सामान्य वृद्धि हो,” उनले बाह्रखरीसित भने, “ठूलो क्षति हुने खालको देखिँदैन ।”
यतिखेर (शनिबार राति साढे १० बजे)को अवस्थाबाट त्यो ठूलो जोखिम निम्त्याउने स्थितिको नभएको उनले प्रस्ट पारे ।
उनका अनुसार, वेत्रवतीमा पछिल्लो १२ घण्टामा वर्षा मापन गरिएको छैन । “वेत्रावतीमा वर्षा भएको छैन,” उनले भने, “नारायणी नदी जलाधारका अरू ठाउँमा भने वर्षा भएको देखिन्छ ।”
अर्थात्, वेत्रावतीमा नभए पनि त्यो क्षेत्रमा कतै वर्षा भएर जलसतह बढेको हुनसक्छ । चितवनको नारायणीको सहायक नदी हो, त्रिशूली ।
उनले अर्को समेत आशंका व्यक्त गरे । भोटेकोसी नदीबाटै बाढी आएको पनि हुन सक्ने उनले बताए । “भोटेकोसीबाट आएको पनि हुनसक्छ,” उनले भने, “माथि (सुप्राग्लेसियल ताल विस्फोट भएको स्थानमा) बाँकी रहेको थोरैथोरै पानी बगेर आएको हुनसक्छ । तर, असर गर्नेजस्तो देखिन्न । वर्षा भएर वा त्यो दुवै कारण हुनसक्छ ।”
त्यही भोटेकोसी, जहाँ गएको मंगलबार (असार २४) भीषण बाढी आएको थियो । त्यो नेपाल–चीन सीमाको करिब ३६ किलोमिटरमाथि तिब्बत क्षेत्रबाट आएको थियो । ‘सुप्राग्लेसियर’ ताल विस्फोट भएर त्यो बाढी आएको विभागले जनाएको छ ।
- विभागले भन्यो– हिमताल विस्फोटबाटै रसुवामा बाढी, यस्तो छ अघिपछिको तस्बिर
- रसुवामा बाढी निम्त्याएको ‘सुप्राग्लेसियल’ ताल के हो ?
वेत्रावतीमा जलसतह बढेपछि विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।