काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइएको छ । आइतबार (असार २९) काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आदिकवि आचार्यको जन्मजयन्तीको अवसर पारेर कवि गोष्ठी र शोभायात्रा समेत गरियो ।
भानु प्रतिष्ठान र प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित शोभायात्रामा साहित्यकारको उपस्थिति थियो । भानुभक्तले सरल, शिष्ट र रोचक ढंगले संस्कृत भाषाको वाल्मीकि रामायण नेपालीमा अनुवाद गरेका थिए ।
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते आदिकवि भानुभक्तको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गते नेपाली भाषासाहित्य र संस्कृतिप्रेमीद्वारा विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउने गरिन्छ । –न्युज एजेन्सी नेपाल