काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यू–१६ यूथ लिगमा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा फ्रेन्ड्सले आर्मीलाई ३–० ले पराजित गरेको हो ।
फ्रेन्ड्सको जितमा पुरन श्रेष्ठ र मन्दीप ढुंगेलले समान एक गोल गरे । फ्रेन्ड्सले एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो । टोलीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको २०औँ मिनेटमा पुरनले फ्रेन्ड्सलाई अग्रता दिलाए । २८औँ मिनेटमा मन्दीपले अग्रतालाई दोब्बर बनायो । ८९औँ मिनेटमा आर्मीबाट एक आत्मघाती बल उपहार पाएपछि टोलीले ३–० को नतिजा हात पारेको हो । आर्मीका बादल पोख्रेलबाट आत्मघाती गोल भएको थियो ।
जितसँगै लिगमा फ्रेन्ड्सले ९ अंक बनाएको छ । फ्रेन्ड्सले अब चौथो जितको निम्ति हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो बुधबार (असार ३२ गते) दिउँसो १ बजे हुने तालिका छ ।
पराजित आर्मीले भने पाँचौँ खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो बिहीबार (साउन १ गते) बिहान १० बजे हुने तालिका छ ।