काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणले पाएको चर्चा र उपलब्धिले निःसन्देह नेपाली खेलकुदमै उत्साह थप्यो ।
गएको वर्ष मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगिताले विश्व क्रिकेट मञ्चमा नेपालको चर्चा खुबै पायो । सहभागी आठ टिमले चर्चित विदेशी खेलाडी भित्र्याउन होडबाजी चलाएका थिए ।
तर, नेपाली खेलकुदकै सबैभन्दा ठूलो भनिएको उक्त प्रतियोगिताले जति चर्चा पाएको छ, त्यति नै आलोचना र प्रश्न पनि सामना गरिरहेको छ ।
सुरुमै प्रतियोगिताले खेप्यो, नामको विवाद । यसअघि जोरा स्पोर्ट्स इन्टरटेन्मेनटका आमिर अख्तरले नेपाल प्रिमिय लिगको नाममा आफूले प्रतियोगिता गरेको र उक्त नाम आफ्नो रहेको जनाउँदै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
जसमा कात्तिक २५ गते सर्वोच्चले अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश जारी गरेको थियो । त्यहीकारण एनपीएल तत्काल रोकिने सम्भावना टरेपछि प्रतियोगिताको पहिलो संस्करण सञ्चालन भएको थियो । त्यसयता सर्वोच्चले जोरा स्पोर्ट्सको यो रिटमा पेसी नै दिएको छैन ।
यता, जिल्ला अदालत काठमाडौंमा पनि जोरा स्पोर्ट्स र क्यानबीच अर्को मुद्दा चलिरहेको छ । अख्तरले आफूसँग गरेको सम्झौता बमोजिमको अवधि बाँकी रहँदै करार उल्लंघन गरी एनपीएल आयोजना गरेको जिकिरसहित क्यानविरुद्ध मुद्दा दायर गरे ।
अख्तरको मुद्दामा जिल्ला अदालत काठमाडौंले गत वर्ष फागुन २३ गते अल्पकालीन आदेश जारी गर्दै करार शर्तविपरीत कार्य नगर्न/नगराउन नेपाल क्रिकेट संघ (क्यान)का नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर, फागुन १ गते पेसीमा अन्तरिम आदेश जारी नहुने जनाएपछि अल्पकालीन आदेश कार्यान्वायन हुनै पाएन । यसै वर्ष जेठ २१ गतेको अर्को पेसीमा काठमाडौं अदालतले क्यानसँग लिखित जवाफ मगाउने निर्णय गरेको छ ।
सर्वोच्च र काठमाडौंमा जिल्ला अदालतमा आफ्नो दुई मुद्दा विचाराधीन हुँदा अख्तर क्यानले आफूसँग कुनै समन्वय नगर्दा न्यायका निम्ति अदालत गएको बताउँछन् ।
“मैले क्यानलाई यस विषयमा छलफल गरौँ नाम लैजानु दुई पटक पत्र लेखे । तर, उहाँहरुले कुनै जवाफ दिनुभएन । नेपालमा क्रिकेट विकास नहोस्, एनपीएल नहोस् भन्ने चाहना आमिर अख्तरको हैन,’’ उनी भन्छन् ।
‘‘एनपीएलको पहिलो संस्करण हुँदा भ्यालुयसन १०० करोडको देखिएको छ । मैले पछि यही नाममा अरु प्रतियोगिता गरे भने के हुन्छ ? नामको अधिकार त मसँग छ,” अख्तरले प्रश्न गरे, “म न्याय पाउन बाध्य हुँदै अदालत गएको हुँ । मलाई पनि हरेक महिना अदालत धाइरहने सोख छैन । तर, उहाँहरुले नै चासो देखाउनु भएन ।”
एनपीएलको विवाद शृंखला यही रोकिँदैन । प्रतियोगिता समाप्त भइसकेको करिब सात महिना पुग्नै लाग्दा पनि आयोजक क्यानबाट खर्च विवरण सार्वजनिक भएको छैन । यसैकारण क्यानकै आठ केन्द्रीय सदस्यले खर्च विवरण सार्वजनिक हुनुपर्ने माग राख्दै यसमा असन्तुष्टि जनाइसकेका छन् ।
एनपीएल परिचालन परिषद्माथि आठ जना सदस्यबाट आएको संयुक्त विज्ञप्तिमा क्यानमा एकल निर्णय प्रवृत्ति हाबी भएको आरोपसमेत थियो । जसमा उपाध्यक्ष रोशन सिंहको समेत हस्ताक्षर छ ।
के के हुन् विवादका विषय ?
एनपीएलको सुरुआतअघि देखिएको विवाद हो, नामको । जसबारे हाल दुई मुद्दा सर्वोच्च र जिल्ला आदालत काठमाडौंमा विचाराधीन छ । प्रतियोगिताको खर्च विवरण एनपीएल विवादको अर्को कारण हो ।
प्रतियोगिताका निम्ति क्यानले प्रसारण अधिकार भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सलाई दिएको थियो । क्यानले स्टार स्पोर्ट्सबाट प्रसारण हुने जनाउँदा सचिव पारस खड्काले भारतीय टेलिभिजन कम्पनीलाई उल्टै आर्थिक भुक्तानी गर्नुपर्ने पुष्टि गरेका थिए ।
यस्तै, प्रतियोगिताका लागि क्यानले व्यावसायिक तथा रणनीतिक साझेदारको रुपमा ल्याएको ब्रान्ड लजिकसँगको सम्झौता, अनलाइन बेटिङसँग सम्बन्धित सरोगेट साइटको खुलेआम विज्ञापनसँगै नेपाल राष्ट्र बैंकको स्वीकृतिविना विदेशी मुद्राको भुक्तानीजस्ता कारणले क्यान विवादको दलदलमा फँसेको छ ।
राखेपको समिति ढिसमिस गर्दै मन्त्रालयबाटै कार्यदल
त्यसो त, एनपीएलमा देखिएको विवादबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानबिन समित गठन गरेको थियो । राखेपले गत वर्षको चैतमा बोर्ड सदस्य अञ्जन धमलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । जसको सदस्यमा सारंगी निरौला र कमला दाहाल थिए । राखेप सदस्य सचिवकै निर्णयअनुसार समितिलाई १५ दिनभित्र एनपीएलको अनियमितताबारे प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो ।
तर, त्यो समितिले कामै गर्न पाएन । खेलकुदमन्त्री तेजुलाल चौधरीले उक्त समितिलाई ढिसमिस गर्दै अर्को कार्यदल बनाए । जसको संयोजक बनिन्, राखेपको सदस्य रञ्जना प्रधान । यही कार्यदलकै अनुसार, एनपीएलको विषयमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दुई उजुरी परेका छन् ।
कार्यदलले छानबिनकै क्रममा क्यानमाथि पाँच प्रश्न राखेको थियो । जुन यस्ता छन्–
क) नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्मा विधानबमोजिम स्थापित संस्थाले सेवा तथा वस्तु खरिदमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को प्रतिकूल कार्य गरी एनपीएलको प्रसारणसम्बन्धी कार्य गर्न तपाईलाई कुन ऐनले अधिकार दिएको हो ? स्पष्ट खुलाउनु हुन ।
ख) त्यस संघबाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने भन्ने निर्णय लामो समय अगाडि नै भइसकेता पनि त्यस संघबाट निकालिएको बोलपत्रमा स्पष्ट समय नखुलाई गोलमटोल ढंगबाट सार्वजनिक सूचना प्रकाशित गरी स्वस्थ प्रतिस्पर्धा नहुने अवस्था किन सिर्जना गर्नुभएको हो ? स्पष्ट खुलाउनु हुन ।
ग) त्यस संघबाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने क्रममा विदेशी परामर्श दाताको रुपमा श्री मनिश सुदर्शन पाण्डे जो भारतीय नागरिक हुन्, उनलाई परामर्शदातासम्बन्धी कार्य गराउँदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४४ (२) विपरीत कार्य गर्न मिल्छ ? स्पष्ट खुलाउनु हुन ।
(घ) त्यस संघबाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने क्रममा स्वदेशी प्रसारणकर्ता कम्पनीहरुलाई प्रतिस्पर्धामा आउन नसक्ने गरी किन त्यस खालको संकुचित ‘क्राइटेरिया’ बनाई ‘सिन्डीकेट’ कायम गर्न मिल्छ ? स्पष्ट खुलाउनु हुन ।
ङ) यसै पत्रसाथ संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ.दं.नं.८–०३०२२ मिति २०८१०८।०७ र उ.द.नं. ८–०४९८७६ मिति २०८११११२ मा दर्ता भएको उजुरी समेत राखी पठाइएको छ ।
उक्त उजुरीमा उल्लेखित विषयवस्तुका सम्बन्धमा स्पष्ट पार्नुपर्ने दायित्व नेपाल क्रिकेट संघको हो ? होइन ? अतः उक्त दुईवटै उजुरीमा उल्लेखित एनपीएल प्रतियोगिताका सम्बन्धमा उठेका विषयवस्तु स्पष्ट पारी छानबिन कार्यदल निस्कर्षमा पुग्न सहयोग गरी दिनुहुन जानकारी गराइछ । अन्यथा, कानुनबमोजिम भई जाने व्यहोरा जानकारी गराइछ ।
यो कार्यदलले पाएको समयसीमा समाप्त भइसकेको प्रतिवेदन गएको शनिबार खेलकुद मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलकी संयोजक प्रधानले प्रतिवेदनमा के छ भन्ने खुलाउन चाहिनन् ।
“मेरो काम समाप्त भइसकेको छ । त्यसैले अब यसमा मेरो कुनै सम्बन्ध छैन । छानबिनका निम्ति दिइएको समय समाप्त भइसकेको हुँदा कार्यविवरण र आफ्नो राजीनामा बुझाए,” प्रतिवेदन बुझाएको भोलिपल्ट कार्यदलकी संयोजक प्रधानले बाह्रखरीसँग भनिन् ।
तर, स्रोतका अनुसार कार्यदलले क्यानमाथि प्रश्न गर्दा प्रधानमाथि ठूलै दबाब थपिएको र यसले राखेपभित्रै पनि विभाजन देखिएको छ ।
“एनपीएलको विषयमा भइरहेका छानबिनले राखेपमा ठूलै मतभेद देखिएको छ । प्रधानमन्त्री राखेपको संरक्षक र खेलकुदमन्त्री अध्यक्ष हुन्छन् । सदस्यसचिवसँगै प्रधानमन्त्री र खेलकुदमन्त्री एनपीएलको विषयमा विभाजित देखिन्छन्,” राखेपका एक अधिकारीले बाह्रखरीसँग भने ।
अनावश्यक विवादमा तानियो–क्यान
यता, क्यानको भने पहिलो संस्करणपछि आएका यी सबै प्रश्नहरु बाहिर देखाइएको जस्तो ठूलो नभएको तर्क छ । क्यानका प्रवक्ता छुम्बी लामा एनपीएलको सन्दर्भमा अनावश्यक विवादमा तानिएको बताउँछन् ।
“क्यानलाई अनावश्यक विवादमा तानियो । नेपालमा एनपीएलसँगै फुटबलमा नेपाल सुपर लिग र कबड्डीमा पनि फ्रेन्चाइज लिग हुन्छ । त्यसबारे कोहीलाई केही चासो नै छैन । तर, एनपीएलबारे भने तिललाई पहाड बनाइयो,” क्यानका प्रवक्ता छुम्बी लामाले बाह्रखरीसँग भने ।
