पोखरा । फेवातालको किनारमा एक हजार ५५ वटा सीमास्तम्भ गाडिएका छन् । ‘डिजिटल्ली’ रूपमा यसअगाडि नै सोही संख्या बराबरका स्तम्भ गाडिएका थिए ।
हाल सोही पोइन्टमा ७५५ वटा भौतिक स्तम्भ गाड्ने र तालको सीमा छुट्याउने काम सकिएको हो ।
पोखरा नगरप्रमुख धनराज आचार्यले फेवा ताल संरक्षणको दिशामा ऐतिहासिक प्रगति भएको जानकारी दिएका छन् ।
“प्राविधिक टोलीले मार्किङ गरेका १०५५ पोइन्टमध्ये पोल गाड्न सकिने स्थानहरूमा पोल गाडी, भिरालो भू–भागमा आवश्यक चिन्हांकनसहित १.५ महिनामा कुल १०५५ पोल गाड्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सीमास्तम्भ गाड्ने काम पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको समन्वयमा, महानगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्थानीय जनसमुदायको सक्रिय सहभागितामा सम्पन्न भएको हो ।
पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले ७५५ वटा भौतिक सीमास्तम्भको ‘अर्डर’ दिइएकोमा केही भने बाँकी नै रहेको जानकारी दिए । उनका अनुसार, ‘डिजिटल्ली’ रूपमा भने एक हजार ५५ वटा नै स्तम्भ गाड्ने काम भइसकेको छ ।
सुवेदीका अनुसार, ताल किनारमा गाडिएका क्रंक्रिट स्तम्भको उचाइ एक मिटरको रहेको छ । स्तम्भको दुरी चाहिँ १० देखि १०० मिटरसम्म रहेको सुवेदीले जानकारी दिए । “अप्ठ्यारो ठाउँमा चाहिँ दुरी लामो छ, कहिँ १० मिटरमा पनि गाडिएको छ,” उनले भने ।
महानगरपालिकाले पोखराकै निर्माण कम्पनीबाट ती स्तम्भ खरिद गरेको हो । एक मिटर उचाइ भएता पनि तालपारी क्षेत्रमा गाडिएका स्तम्भको मोटाइ भने कम छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखराका नगरप्रमुख आचार्यसहितको उपस्थितिमा गत जेठ १८ गतेदेखि ताल किनारमा स्तम्भ गाड्न सुरु गरिएको थियो । स्तम्भमा ‘हाई फ्लोड लेभल’ (एचएफएल) लेखिएको छ । यसको अर्थ तालको उच्चतम पानी भएको विन्दु भन्ने बुझिन्छ । त्यसपछि स्तम्भमा पोल संख्या लेखिएको छ ।
स्तम्भको माथिल्लो भागमा पहेँलो रंग पोतिएको छ भने बाँकी भागमा सेतो रंग लगाइएको छ ।
सुवेदीका अनुसार, सुरुमा क्रमैसँग पोलमा संख्या नम्बर लेखिएको भएता पनि पछाडि भने त्यसले निरन्तरता पाएको छैन । कहिले स्थानीयको अवरोध त कहिले पोल गाड्ने कामले निरन्तरता नपाउँदा नम्बर लेख्न कठिन भएको सुवेदीले जानकारी दिए ।
ताल किनारमा गाडिएका पोलमा क्रमशः नम्बर पनि लेखिने उनले जानकारी दिए ।
तालकिनारमा स्तम्भ गाडिसकिएपछि अब तालघर क्षेत्रमा परेका तथा ६५ मिटरभित्रका कित्ताहरूको वर्गीकरण हुने नगरप्रमुख आचार्यले जानकारी दिए ।
उनले लेखेका छन, “अब तालघर क्षेत्रमा परेका तथा ६५ मिटरभित्रका कित्ताहरूको वर्गीकरण हुनेछ । कुन मुआब्जा पाउने, कुन बदर हुने ।”
तेस्रो चरणमा मुआब्जायोग्य कित्ताहरूको क्षतिपूर्ति सिफारिस र मुआब्जा प्राप्त गरेपछि मात्र जग्गा खाली गरिने उनले जानकारी दिए ।