site stats
बाह्रखरी :: Baahrakhari
देश
केन्द्रीय सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमाको प्रथम विन्दु कायमै रहने
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरूमा प्रथम विन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । 

सामाजिक सञ्जालमा यस सम्बन्धमा जानकारी दिँदै मन्त्री पौडेलले लेखेका छन्, “स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हट्दा नागरिकलाई परेको कठिनाइ सम्बोधन गर्दै नजिक प्रथम सेवा विन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरूका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौँ ।”

हालै स्वास्थ्य बिमा बोर्डले निजी तथा सरकारी अस्पतालहरूमा प्रथम सेवा विन्दु हटाएर स्थानीय तहमा नै व्यवस्था गर्ने निर्णय गरेको थियो । तर, त्यस व्यवस्थाले नजिक केन्द्रीय अस्पताल नभएका स्थानका नागरिकलाई झनै समस्या परेको गुनासो प्राप्त भए पछि मन्त्री पौडेलले स्वास्थ्य बिमा बोर्डमार्फत समस्या समाधान गर्ने प्रयास थालेका हुन् । 

अब बोर्डले मन्त्रालयको पत्रअनुसार नजिकै प्रथम सेवा विन्दु नभएका स्थानमा वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालहरूमा प्रथम सेवा विन्दुको सुविधा उपलब्ध गराउनेछ । 

मन्त्री पौडेलले हरेक स्थानीय तहमा प्रथम सेवा विन्दु नभएका स्थानमा स्थापना तथा भएकाको सेवा सुविधा वृद्धिका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य समेत गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्