काठमाडौं । श्री भगवती क्लब टोखाले एन्फा यू–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।
भगवतीले बिहीबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न तेस्रो खेलमा एनआरटीविरुद्ध १–० को संघर्षपूर्ण जित निकालेको हो ।
भगवतीको जितमा दिपेश शाहीको गोल निर्णायक बन्यो । खेलको सातौँ मिनेटमा दिपेशले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै टोलीले जित दर्ता गरेको हो ।
जितसँगै भगवतीले लिगमा ६ अंक बनाएको छ । भगवतीले ६ खेलबाट दुई जित र चार पराजयबाट ६ अंक बनाएको हो । उसले अब सातौँ खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो सोमबार (साउन ५ गते) बिहान १० बजे हुनेछ ।
पराजित एनआरटीले भने सातौँ खेलमा फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो सोमबार (साउन ५ गते) दिउँसो १ बजे हुने तालिका छ । एनआरटीले लिगमा ६ खेल खेल्दा एक जित, दुई बराबरी र तीन हारबाट पाँच अंक बनाएको छ ।