काठमाडौं । मौसमविद्हरूले आज रातिबाट भारी वर्षा सुरु हुने बताएका छन् । पूर्वी नेपालबाट सुरु हुने भारी वर्षा सोमबारसम्म देशभर फैलिने पूर्वानुमान छ ।
“शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुनेछ,” मौसमविद् विनोद पोखरेल भन्छन्, “सोमबारसम्म नेपालभर भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहनुहोला ।”
मौसमविद् तथा विपद् व्यवस्थापनविज्ञ धर्मराज उप्रेती आइतबार बिहान ३/४ बजेतिर कोसी प्रदेशबाट सुरु हुने भारी वर्षा दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्ने बताउँछन् ।
“सोमबार बिहानैदेखि सुदूरपश्चिमका चुरेलगायत डोटी, डडेलधुरा, बैतडीका अधिकांश भागमा भारी वर्षाको सम्भावना देखिन्छ,” उनले भने, “कैलाली र कञ्चनपुरका उत्तरी भेगमा समेत भारी वर्षाको सम्भावना छ ।”
कर्णाली प्रदेशको सुर्खेत वरिपरि पनि सोमबार भारी वर्षाको सम्भावना रहेको उनले बताएका छन् । पूर्वी तराई र मधेसमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा हुने उनको भनाइ छ ।
“यो मनसुनी प्रणाली सक्रिय रहने सम्भावना भएकाले आइतबारदेखि मंगलबारसम्म बाढी, पहिरो र डुबानको जोखिम हुनसक्ने भएकाले सावधानी आवश्यक छ,” उप्रेतीले भनेका छन् ।
जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो बिहान कोसी प्रदेशमा भारी राति हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागका अनुसार वाग्मती प्रदेशमा दिउँसो मध्यमदेखि भारी र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशमा दिउँसो र राति नै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
लुम्बिनी र कर्णाली प्रदेशमा दिउँसो र राति नै मध्यमदेखि भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा दिउँसो र राति नै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।