site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लघुकथा समाजको अध्यक्षमा तुलसीहरि कोइराला

काठमाडौं । लघुकथा समाज, नेपालको १९औँ साधारणसभा सम्पन्न भएको छ । संस्था लघुकथाको उन्नयन र विकासमा क्रियाशील छ ।

शनिबार (साउन ३) काठमाडौंमा आयोजित साधारणसभामा समाजका महासचिव सुमन सौरभले संगठनात्मक र कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभाबाट दुवै प्रतिवेदन पारित गरिएको छ ।

सभामा समाजका सल्लाहकार एवं अग्रज नाट्यकर्मी अशेष मल्लले यसले महत्त्वपूर्ण काम गर्दै आएको चर्चा गरे । संस्थालाई अझै अगाडि बढाउन गम्भीरतापूर्वक लाग्न उनले सुझाव दिए ।

सल्लाहकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमले नयाँ कार्यसमितिले इतिहास निर्माण गर्नुपर्नेमा जोड दिए । 

समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथाको सांगठनिक स्वरूपका बारेमा कसैले चर्चा नगरेको समयमा यो संस्था गठन गरिएको स्मरण गरे । उनले नयाँ कार्यसमितिले समाजलाई अझै उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, “पैसाका कारण संस्थाको काम रोकिनु हुन्न । संगठन अगाडि बढिरहनुपर्छ ।”

निवर्तमान अध्यक्ष गोपाल अश्कले समाजले गरेका कामहरूबारे बोले ।

कार्यक्रममा राधेश्याम लेकाली, मोहन चापागाईंलगायत साहित्यकारले शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभाबाट लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समाजको उपाध्यक्षमा शुषमा चित्रकार, महासचिवमा सुमन सौरभ, सचिवमा श्रीबाबु कार्की, कोषाध्यक्षमा छविरमण सिलवाल र सदस्यमा सिन्धु गौतम, तारा केसी, मधु पाठक र राजेश खनाललाई सर्वसम्मत रूपमा चयन गरिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्