site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमी प्रणाली विकास, यी जिल्लामा भयो हावाहुरीसहित भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आइतबार (साउन ४) बिहान भारी वर्षा भएको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेश आसपास क्षेत्रमा पानी पार्ने मौसमी प्रणाली विकास भएको थियो । उक्त प्रणालीको प्रभावले मेघगर्जन/चट्टयाङ, हावाहुरीसहित वर्षा भएको महाशाखाले जनाएको छ ।

“उक्त प्रणाली दक्षिण–पश्चिम दिशामा फैलिने क्रममा रहेकोले सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाउनुहोला,” महाशाखाले आइतबार बिहान करिब साढे १ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

यी स्थानमा भयो वर्षा
उक्त प्रणालीको प्रभावले कास्कीमा आइतबार बिहान भारी वर्षा भएको छ । लुम्ले र आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यहाँ थप वर्षाको सम्भावना छ । बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“साउन ०४ गते, बिहान ०५ः०५ बजे । पछिल्लो एक घण्टामा कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले आवश्यक सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

सुनसरीको तरहरा, मोरङको विराटनगर एयरपोर्ट, हरैँचा र आसपास मध्यम वर्षा भएको विभागले जनाएको छ ।

झापाका चण्द्रगढी एयरपोर्ट, केचना, अनरमनी बिर्ता र इलामका जीतपुर, सोक्टिम टी स्टेट, कन्काई र आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको विभागले जनाएको छ ।

लमजुङको भुजुङ र आसपा हल्कादेखि मघ्य्यम वर्षा मापन गरिएको विभागले जनाएको छ ।

वर्षासँगै देशका कतिपय नदी तथा खोलामा बाढी आएको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर (नेपालनजिक)तिर रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०६:१३
प्रतिक्रिया दिनुहोस्