काठमाडौं । काठमाडौंस्थित धरहरालाई शनिबारमात्र तीनहजार ५०७ जनाले अवलोकन गरेका छन् । साउन १ गतेबाट धरहरा खुल्ने समय बढेसँगै धरहरा चढ्नेको संख्या बढेको छ ।
साउन १ गते दुईजार ५०० जनाले, साउन २ गते दुईहजार ६३१ र साउन ३ गते तीनहजार ५०७ जनाले अवलोकन गरेको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । साउन १ देखि ३ गतेसम्ममा १५ लाख ५६ हजार ६५० रुपैयाँ संकलन भएको छ ।
धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको संख्या दोब्बर बढीले वृद्धि भएको छ । साउन १ गतेबाट धरहरा बिहान ८ देखि बेलुका ८ बजेसम्म खुला गरिएको छ ।
“बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म टिकट खुल्छ । बिहान साढे ८ देखि बेलुका ८ बजेसम्म अहिले सेवाग्राहीले धरहरा चढिरहनुभएको छ,” इकाइ प्रमुख राईले भने, “समय थप हुँदा निकै राम्रो भएको छ । धरहरा हेर्न आउनेहरूको संख्या विगतमा भन्दा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ ।”
पहिले धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकामा अहिले समय थप गरिएको हो । पहिले दैनिक करिब १२ सयले धरहरा अवलोकन गर्ने गरेकामा पछिल्लो तीन दिनमा आठहजार ६ सय ३८ जनाले अवलोकन गरेका छन् ।
०८१ मंसिरदेखि ०८२ असार मसान्तसम्ममा पाँच करोड १२ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ धरहरा चढ्नेहरूबाट संकलन भएको छ ।