पोखरा । कास्की कारागारमा आइतबार कैदीबन्दीले नाराबाजीसहित टायर जलाएर प्रदर्शन गरे । कास्की कारागारको ‘ए’ ब्लकमा नाराबाजी र प्रदर्शनी भएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गर्नुपरेको थियो ।
यसको विवादको जड चाहिँ कारागार व्यवस्थापन विभागले हालै गरेको चौकीदार नियुक्तिको विषय हो । कास्की कारागारले विभागलाई चौकीदारको लागि अजय गुुरुङ, प्रकाश गुरुङ र प्रशान्त थापाको नाम पठाएको थियो । विभागले चाहिँ अजयको नाम चौकीदारमा सिफारिस गर्यो । अजयभन्दा अगाडि प्रकाश चौकीदार भइसकेका थिए ।
अहिले भने उनको ठाउँमा अजयलाई सिफारिस गरेपछि प्रकाशका समर्थकहरूले नाराबाजी र टायर बालेर प्रदर्शन गरेका हुन् ।
अजय र प्रकाश दुवै ज्यान मुद्दामा आठ वर्षदेखि कैद सजाय भोगिरहेका व्यक्ति हुन् । थापा चाहिँ लागुऔषध मुद्दाका हुन् । कारागारभित्र प्रकाशका समर्थक धेरै भएको तर, अजयको नाम सिफारिस भएपछि आन्दोलन भएको हो । यो ब्लकमा अहिले अजय र प्रकाशका स्पष्ट दुई समूह देखिएका छन् ।
‘क’ ब्लकका प्रदर्शनकारी कैदीबन्दीले दुई कार्यकालअघिका चौकीदार प्रकाशलाई नै फिर्ता ल्याउनुपर्ने माग राखेका छन् । उनीहरूले ‘यस्तो नेतृत्व चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए ।
कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले प्रकाश पक्षधर कैदीबन्दीहरू नाराबाजीमा उत्रिएको जानकारी दिए ।
“चौकीदार नियुक्तिसम्बन्धी विषयमा कारागार व्यवस्थापन विभागबाट अजय गुरुङको नाममा सिफारिस आएको थियो । त्यही विषयमा पूर्वचौकीदार (दुई कार्यकाल अगाडिका) चाहिन्छ हामीलाई । अजय गुरुङको नेतृत्व स्वीकार छैन भनेर प्रकाश गुरुङका मान्छेहरूले नाराबाजी गरेका हुन्,” उनले भने ।
प्रकाशका समर्थकले नाराबाजी गरिरहँदा अजयका समर्थक भने भित्रै थिए । विभागले गरेको निर्णय परिवर्तन नहुने उनले जानकारी दिए । कास्की कारागारमा भएको घटनाबारे विभागलाई जानकारी गराइएको कुँवरले जानकारी दिए ।