site stats
बाह्रखरी :: Baahrakhari
देश
कारागारभित्र ‘नाइके’ तोक्ने विषयमा विवाद हुँदा सिरहामा भएको थियो झडप

काठमाडौं । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भए । कारागारभित्र आन्तरिक प्रशासनको ‘नाइके’ तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिए । “नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको हो,” उनले भने । 

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली तत्काल कारागार पुगेको थियो । झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

सिरहा कारागार १५० कैदीबन्दी राख्ने क्षमताको भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिएको छ ।

शनिबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कारागार अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुनै असहज अवस्था नरहेको बताइएको थियो । त्यसको भोलिपल्टै झडप हुनुले कारागार व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

यसअघि पनि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समिति गठन गरिएको थियो । डेढ महिनाअगाडि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्