काठमाडौं । काठमाडौंमा बिहानैदेखि नै वर्षा भइरहेको छ ।
गएराति सिन्धुपाल्चोकलगायत जिल्लामा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“राति सिन्धुपाल्चोकमा वर्षा भयो । त्यो वर्षा सरेर अहिले काठमाडौंमा वर्षा भइरहेको छ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “यो वर्षा केही समयपछि सरेर धादिङतर्फ जाने क्रममा छ ।”
बिहान काठमाडौंसँगै काभ्रे र धादिङमा वर्षा भइरहेको छ ।
“सिन्धुपाल्चोकबाट वर्षा सर्दै काभ्रे र काठमाडौं आएपछि अहिले सिन्धुपाल्चोकमा भने वर्षा कम भइसकेको छ,” मौसमविद् अधिकारी भन्छन्, “यो सरेर माथिल्लो क्षेत्र धादिङतर्फ जाने भएकाले केही समयदेखि अपराह्नसम्म काठमाडौंका सामान्य वर्षा मात्रै हुनेछ ।”
उनका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उनले जानकारी दिए ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ ।