काठमाडौं । इलाममा भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा इलामको कन्याम टी–स्टेट वर्षामापन केन्द्र र आसपास क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
थप वर्षाको सम्भावना छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने पनि विभागले जनाएको छ । नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“साउन ६ गते, राति ८:१० बजे । पछिल्लो १ घण्टामा इलाम जिल्लाको कन्याम टी स्टेट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा रहनुहनेहरूले सतर्कता अपनाऔँ,” विभागले सूचना जारी गर्दै भनेको छ ।
गएको एक घण्टामा इलामको कन्याममा सबैभन्दा बढी पानी परेको छ । कन्याममा ७२ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम पानी परिरहेको छ ।