site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीमा ट्रान्सफर्मर चोरीले विद्युत् प्राधिकरण हैरान, एउटै चोरीमा लाखौँ क्षति

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा जडान गरिएको ट्रान्सर्फमर चोरी भएको छ । खेतमा सिचाईंका लागि जडान गरिएको ट्रान्सफर्मर गएराति चोरी भएको हो ।

स्थानीयका अनुसार मध्यहर्षाहीमा डिप बोरिङका लागि ट्रान्सफर्मर जडान गरिएको थियो । किसानले लोभोल्टेजमा समस्या भएको बताएपछि प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिएको थियो ।

यो घटना केही दिनअघि देवानगञ्ज क्षेत्रमा अवस्थित बिजुलीको पोलबाट ट्रान्सफर चोरी भएको घटनासँग मेल खाएको प्राधिकरणको देवागञ्ज शाखाले जनाएको छ । पहिले चोरीमा संलग्न भएकाहरूले नै फेरि चोरी गरेको हुनसक्ने आशंका गरिएको छ ।

ट्रान्सफर्मरबाट तामाको तार खोलेर लगेको पाइएको देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताए । उनले भने, ‘‘ग्रामीण क्षेत्रमा पटकपटक यस्ता चोरी हुँदा चिन्ता बढाएको छ ।’’ 
देवानगञ्जमा ट्रान्सफर चोरीको यो तेस्रो घटना हो । तर, हालसम्म चोरको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । 

विभिन्न स्थानमा बारम्बार ट्रान्सफर चोरी हुँदा प्राधिकरणलाई समेत  व्यवस्थापन गर्न समस्या हुन थालेको छ । कोसी प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढेका छन् । 

विशेष गरी तराईका जिल्लामा ट्रान्सफर्मर चोरी हुने गरेको पाइएको छ । सुनसरी, झापा र मोरङका भित्री तथा ग्रामीण क्षेत्रमा चोरीका घटना बढेका छन् । 

नेपाल विद्युत् प्राधिकरण कोसी प्रदेश प्रमुख राजीवकुमार सिंहका अनुसार चोरी भएका सबै स्थानहरू बस्तीविहीन तथा एकान्त क्षेत्रमा रहेका छन् । शाखा लाइनहरूमा जडान गरिएको क्षेत्रमा ट्रान्सफर्मर जडान गरिएका थिए । उनका अनुसार ट्रान्सफर्मरको बाहिरी खोल फालेरभित्रको तामा मात्रै निकालिएको पाइएको छ ।

उनी भन्छन्, ‘‘एउटा ट्रान्सफर्मरभित्र झण्डै एक सय केजी तामा हुन्छ । यसको बजार मूल्य प्रतिकेजी २ हजार रुपैयाँ जति पर्छ । त्यही बिक्री गर्नेहरुले चोरेका हुन सक्छन् ।’’ 

एउटा १०० केभीए ट्रान्सफर्मर चोरी हुँदा १०–१२ लाख रुपैयाँ बराबरको क्षति हुन्छ । ५० केभीएको चोरी भए प्राधिकरणलाई ६–७ लाख रुपैयाँसम्म नोक्सानी हुने उनले बताए ।

विद्युत् तथा ट्रान्सफर्मर प्रविधिमा जानकार व्यक्तिहरूको संलग्नता रहेको अनुमान गरिएको छ । प्राधिकरणले चोरी सम्बन्धी छानबिन तथा दोषी पहिचानका लागि कोसी प्रदेश प्रहरी कार्यालयमा निवेदन दिइएको जनाएको छ । 

वैशाखयता चोरीका घटना बढेका छन् । हालसम्म मोरङ सुन्दरहरैंचा नगरपालिका–२, जोगीहारे (५० केभीए), ग्रामथान गाउँपालिका–५ झपटाटोल (५० केभीए), रङ्गेली नगरपालिका–७, (५० केभीए), रङ्गेली नगरपालिका–१, जिरायत टोल (१०० केभीए), झापाको शिवसताक्षी नपा–१, धरमपुर खानेपानी (१०० केभीए), सुनसरीको बराहक्षेत्र नगरपालिका–९, राजाबास (१०० केभीए) र देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा ट्रान्सफर्मर चोरी भएको छ । देवागञ्जमा तेस्रोपटक चोरी भएको हो । ती सबै घटनामा तामाको तार झिकेर लगेको पाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्