site stats
बाह्रखरी :: Baahrakhari
देश
पानी परिरहँदा पनि किन हुन्छ पसिना चुहिने गर्मी ?

काठमाडौं । मनसुन सिजन चलिरहे पनि केही समययता भारी वर्षा भएको छैन । केही प्रदेशका एकाध स्थानमा भारी वर्षा भए पनि धेरै स्थानमा भारी वर्षा हुन सकेको छैन । मनसुनी वायु कमजोर हुँदा अपेक्षित वर्षा हुन सकेको छैन ।  

दक्षिणी तराईमा यो वर्ष मनसुनमै खडेरी लागेको छ । पानी नपर्दा धान रोपाईं हुन सकेको छैन । मधेस प्रदेशलाई संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेस प्रदेशले एक महिनाभन्दा अगाडि नै सुक्खा क्षेत्र घोषणा गरिसकेको छ । 

तर, मधेस प्रदेश मात्रै होइन अलिअलि पानी परिरहेका प्रदेश र स्थानमा पनि गर्मी भने उत्तिकै छ । पानी परिरहेकै अवस्थामा र पानी रोकिएपछि पनि गर्मी हुने गरेको छ । 

पानी पर्ने सिजन र पानी परिरहेकै समयमा कसरी गर्मी हुन्छ ? हावामा अद्रता उच्च हुने कारण पानी परिरहको समयमा गर्मी हुने गरेको मौसमविद् सरोज पुडासैनी बताउँछन् । 

“वायुमण्डलमा यो सिजनमा हावामा आद्रता बढी हुन्छ । हावामा जति धेरै आद्रता हुन्छ, त्यति नै गर्मी हुन्छ,” उनी भन्छन्, “त्यसैले यो मौसममा एक/दुई डिग्री तापक्रम बढे पनि धेरै गर्मीको अनुभव हुन्छ । तापक्रम उच्च डिग्री सेल्सियस नभए पनि गर्मीको महसुस हुन्छ ।”

पानी परिरहेको समयमा थोरै कम गर्मीको महसुस भए पनि रहेपछि फेरि गर्मीको अनुभूत हुने उनको भनाइ छ । “पछिल्लो समय आइसोलेटेड अथवा कही ठाउँमा मात्रै वर्षा भइरहेको हुन्छ, यसले पनि धेरै ठाउँमा गर्मी भइरहेको हुन्छ,” मौसमविद् पुडासैनीले भने । 

यद्यपि, केही दिनदेखि तापक्रम बढिरहेको उनी बताउँछन् । “सोमबारको तुलनामा मंगलबार देशभर औसतमा एकदेखि दुई डिग्री तापक्रम बढेको छ,” उनले प्रष्ट पारे । 

मौसमविद् मीनकुमार अर्याल मनसुन सिजनमा सुक्खा तातो मात्र नभएर जलवाष्प पनि तातो हुनु गर्मी हुनुको मुख्य कारण भएको बताउँछन् ।

“अरु सिजनमा सुक्खा तातो मात्र हुन्छ । मनसुनमा जलवाष्प पनि तातो हुन्छ,” मौसमविद् अर्याल भन्छन्, “बाहिरको तातो पनि हुन्छ र वायुमण्डलमा रहेको जलवाष्पयुक्त हावा पनि तातो हुन्छ, यो नै यो सिजनमा गर्मी हुनुको कारण हो ।”

वायुमण्डलमा ओसिलो हावा हुने र पानीको मात्रा रहेको उक्त हावा पनि तातो हुँदा ‘उकुसमुकुस’ गर्मी हुने उनी प्रष्ट पार्छन् । वायुमण्डलमा ठूलो मात्रामा पानी हुने र त्यसलाई सूर्यको किरणले तताउँदा थप गर्मी हुने गरेको उनी बताउँछन् । 

“पानी तातो ढुंगामा अथवा आगोमा हाल्दा त्यसबाट आउने बाफले जसरी छेउमा रहेको मान्छेलाई पोल्छ, अहिलेको सिजन त्यस्तै हो,” मौसमविद् आर्याल भन्छन्, “वायुमण्डलमा रहेको पानीलाई सूर्यको किरणले तताउने भएकाले मनसुनमा तापक्रम आफैँमा बढी हुन्छ । त्यसैले यो सिजनमा पानी परिरहेका बेला पनि गर्मी हुन्छ ।”    

तापक्रम २८ डिग्री सेल्सियस मात्रै छ भने पनि वायुमण्डलमा रहेको जलवाष्पयुक्त हावा तातेकाले गर्मी धेरै हुने उनको भनाइ छ । ओसिलो हावा तातेकाले बढी गर्मी भएको हो । 

मनसुन सिजनमा काठमाडौंमा सामान्यतया ३०/३१ डिग्री सेल्सियस तापक्रम रहँदा ३३/३४ डिग्री सेल्सियस तापक्रम रहँदाभन्दा बढी गर्मीको महसुस हुने गरेको उनी बताउँछन् ।  

“बाहिर वायुमण्डलमा जलवाष्पयुक्त हावा धेरै हुन्छ । त्यसैले बाहिर सुक्खा हुँदैन । शरीर सुक्खा नहुने भएकाले पसिना जति जानुपर्ने हो त्यति जाँदैन,” मौसमविद् अर्याल भन्छन्, “यही कारण हामीलाई गर्मीको महसुस धेरै हुन्छ, उकुसमुकुस हुन्छ ।” 

अहिलेको सिजनमा पानी परेपछि मौसम सफा हुने र सूर्यको किरण सिधा आउने भएकाले जमिनमा रहेको पानीलाई तताउँछ । त्यसको बाफ पनि वायुमण्डलमा रहेको तातो वाष्पमा मिसिँदा धेरै गर्मी हुने गरेको उनले प्रष्ट पारे ।  

पानीले मौसम सफा हुँदा वायुमण्डलमा ‘पोलुसन’ नहुँदा मनसुन सिजनमा पोल्नेगरी घाम लाग्ने र त्यसले पनि गर्मी बढी हुने उनी बताउँछन् ।   

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्